Harsamaya
कांग्रेसको ‘जरा अभियान’का सात उद्देश्य, उत्साह र विश्वासको नवीन अभियान
सांकेतीक तस्वीरः हर समय/harsamaya

काठमाडौं - नेपाली कांग्रेसको ‘जरा अभियान’ सभापति गगनकुमार थापाले आफ्नो वडा काठमाडौँ महानगरपालिका–३० बाट आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गरेसँगै आजदेखि प्रारम्भ भएको छ । वैशाख महिनाभर चल्ने अभियान क्रममा एकातर्फ राष्ट्रिय सन्दर्भमा पार्टीको सोच र सन्देश प्रवाह हुने छ भने, अर्कातर्फ स्थानीय तहसम्म पार्टी जागरण र रूपान्तरण क्रममा क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य हुने पार्टी कार्यालयले जनाएको छ ।

‘रूख’को ‘जरा’ गोडमेल गर्न र पार्टीमा ताजगी अभिवृद्धि गर्न यो अभियानले मद्दत पुर्‍याउने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए। गत फागुन २१ को निर्वाचनपश्चात् मुलुकको प्रमुख प्रतिपक्षी दलको जिम्मेवार भूमिकामा पार्टी रहेको र यस अभियानमार्फत पार्टीको भूमिका सबल बनाउँदै देश, प्रणाली र समाज सबल बनाउने ध्येयमा समर्पित रहेको उनले उल्लेख गरे।

संसद्मा रहेका दलहरूबीच राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ र समग्रमा राष्ट्रियताको प्रश्नमा साझा दृष्टि र सहकार्य गर्ने तथा देशबाहिर रहेका नेपालीको सुरक्षा र अधिकारका सन्दर्भमा पार्टीको प्रतिज्ञा पत्रबमोजिम देशभित्रको भावनात्मक जरा बलियो बनाउन आवश्यक नीतिगत, कानुनी र संरचनागत विषयमा पहल, संवाद र सहकार्य गर्ने अभियानको उद्देश्य रहेको छ ।

त्यस्तै, संसद्मा कांग्रेसको सहयोगी एवं खबरदारीपूर्ण भूमिका बढाउने, संविधान संशोधनको प्रश्नमा लोकतन्त्रको सारभूत मूल्यमान्यतामा सम्झौता नगरी समयोचित दृष्टि, इमानदार अवधारणाको खोजी एवं परिणाममुखी सहकार्य गर्ने यस अभियानको उद्देश्य रहेको प्रवक्ता चालिसेले बताए।

संविधानको मर्मबमोजिम सङ्घीयताको सबलीकरण गर्न आवश्यक कानुन निर्माणमा सहकार्य गर्ने, कांग्रेस सहभागी रहेका प्रदेश सरकारहरूको गतिविधि समीक्षा, आवश्यक हेरफेर र समयानुकूल परिमार्जन गर्दै प्रदेश सरकार प्रभावकारी बनाउन यो अवधिमा उपयुक्त रणनीति अवलम्बन गर्ने अभियानको उद्देश्यमा उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन प्रभावकारी बनाउन यही अभियान क्रममा सकारात्मक सन्देश प्रवाह गर्ने, समुन्नतिको प्रश्नमा दलगत आग्रहभन्दा पर समन्यायिक विकास दृष्टि राख्ने, प्रदेश र स्थानीय तहमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको प्रभावकारिता वृद्धि अभियानको उद्देश्य छ ।

त्यस्तै, नवयुवाहरूसँग अनेक तहमा संवाद, तिनको सोच र सपनाअनुरूप रूपान्तरण र गति प्रदान गर्ने, राज्य, दलहरू र निजी क्षेत्रबीच बृहत्तर सहकार्यको खोजीका साथ निजी क्षेत्रको मनोबल अभिवृद्धि र थप दायरा विस्तारमा प्रोत्साहन गरिने पार्टीले जनाएको छ ।

जातीय, वर्गीय, धार्मिक, सामाजिक र सांस्कृतिक समूबीच सद्भाव अभिवृद्धिमा भूमिका निर्वाह गर्ने, जातीय विभेद र सबै खाले विसङ्गति नियन्त्रणमा सहकार्य गर्ने, विमतिका विषयहरू न्यूनीकरण गर्दै पार्टीभित्र खुला संवाद र सहकार्य गर्ने, विभिन्न समयमा विविध कारणले पार्टीबाट टाढा भएका साथीहरूलाई ‘घर–आँगन फर्क’ आह्वान गर्ने, केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहसम्मका समितिहरूबीच विषयगत तादाम्यता र साङ्गठनिक कार्यमा गति वृद्धि गर्ने अभियानको उद्देश्य रहेको छ ।

पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाहरूको कार्य समीक्षा, आवश्यक निर्णय र ‘जरा’तहसम्म सम्बन्धित संस्थाहरूको प्रभावकारिता खोजी गर्ने, विशेष महाधिवेशनले पारित गरेका दृष्टि, निर्माण गरेको नेतृत्व र अवलम्बन गरेका नीतिको परिवर्तित सन्देश प्रवाह गर्दै क्रियाशील सदस्यता व्यवस्थित रूपले अद्यावधिक गर्दै, आगामी असोजमा हुने पार्टीको १५औँ महाधिवेशन तयारी उत्साह र नवीन विश्वासका साथ अघि बढाउने अभियानको उद्देश्य रहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update