Harsamaya
वैशाख १ गते मात्र फुल्ने ‘चमत्कारी’सुनाखरी हेर्न घुँइचो
‘सुनाखरी’ फूल ।

रौतहट - सिराहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सलहेश फूलबारीमा नयाँ वर्ष २०८३ को अवसरमा भव्य मेला लागेको छ ।

वर्षको एक दिन वैशाख १ गते मात्र फुल्ने विश्वास गरिएको दुर्लभ ‘सुनाखरी’ फूलको दर्शन र पूजाअर्चना गर्न बिहानैदेखि श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ ।

लहान नगरपालिका वडा नम्बर १२ र २२ मा झण्डै नौ बिघा क्षेत्रफलमा फैलिएको यस फूलबारीमा रहेको हारमको रूखमा सुनाखरी फूल ढकमक्क फक्रिएको छ ।

१४औँ शताब्दीका लोकनायक राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रेमको प्रतीक मानिने यो फूल हेर्न नेपालका विभिन्न जिल्लाका साथै सीमावर्ती भारतीय सहरहरूबाट समेत हजारौँको सङ्ख्यामा पर्यटकहरु आएका छन्।

भक्तजनहरूले सलहेश र मालिनीको अगाध प्रेमको गाथालाई स्मरण गर्दै पूजापाठ गर्ने गर्दछन्। किम्वदन्ती अनुसार हरेक वर्ष वैशाख १ गतेका दिन राजा सलहेशको प्रतीक्षामा मालिनी फूलका रूपमा प्रकट हुने विश्वास गरिन्छ।

यो अलौकिक दृश्यको अवलोकन गर्न आउने पर्यटक र दर्शनार्थीका कारण फूलबारी क्षेत्र यतिबेला उत्सवमय बनेको छ।

स्थानीय प्रशासन र मेला व्यवस्थापन समितिले बढ्दो भीडलाई मध्यनजर गर्दै सुरक्षा र दर्शनको विशेष व्यवस्था मिलाएको छ। नयाँ वर्षको पहिलो दिन यो अनौठो प्राकृतिक र सांस्कृतिक सम्पदाको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update