Harsamaya
बितेको वर्षले नेपालको राजनीतिमा महत्वपूर्ण मोड ल्यायो - डा. शेखर कोइराला
नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला।

काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बितेको वर्षले नेपालको राजनीतिमा महत्वपूर्ण मोड ल्याएको उल्लेख गरेका छन्। नयाँ वर्ष २०८३ को शुभकामना सन्देश जारी गर्दै उनले विशेषगरी युवापुस्ताको सक्रियता, चेतना र सहभागिताले राजनीतिलाई नयाँ दिशा दिएको बताएका छन्। 

सामाजिक सञ्जालदेखि सडकसम्म देखिएको युवाहरूको आवाज अब विरोधमा मात्र सीमित नभई नेतृत्व र उत्तरदायित्वतर्फ उन्मुख भएको उनको भनाइ छ।

कोइरालाले वर्तमान परिवेशमा सरकारप्रति जनताको अपेक्षा बढ्दै गएको पनि उल्लेख गरेका छन्। जनताले परिणाममुखी, पारदर्शी र जवाफदेही नेतृत्व चाहेको भन्दै काम गर्ने, देखिने र अनुभूति हुने सरकारको आवश्यकता अझ तीव्र भएको बताएका छन्।  'सुशासन र विकासबीच सन्तुलन कायम गर्दै देशलाई समृद्धिको मार्गमा अगाडि बढाउनु सरकारको प्रमुख दायित्व हो',उनले भने ।

सन्देशमा उनले लोकतन्त्रका लागि लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित नेपाली कांग्रेस अझै पनि राष्ट्रिय राजनीतिको महत्वपूर्ण शक्ति रहेको बताएका छन् । बदलिँदो समयअनुसार आफूलाई रूपान्तरण गर्दै नयाँ पुस्तालाई समेट्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै उनले पार्टीभित्र एकता र सिद्धान्तप्रति प्रतिबद्धता आवश्यक रहेको बताए । 

डा. कोइरालाले राष्ट्रिय मेलमिलाप, एकता र सहकार्यको मार्गबाट मात्रै देशलाई अगाडि बढाउन सकिने उल्लेख गर्दै नयाँ वर्षले सकारात्मक सोच, नवीन ऊर्जा र एकताको भावना जगाउने विश्वास व्यक्त गरेका छन्। उनले साझा प्रयासबाट समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माण गर्न सबैलाई आव्हान गरेका छन्। 

प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update