पोखरा - फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनामा शनिबार बिहानदेखि डोजर चलाइएको छ। गृह मन्त्रालयको निर्देशनअनुसार तालको ६५ मिटरभित्र पर्ने संरचना हटाउन थालिएको हो।
चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यको वाटरफ्रन्ट रिसोर्टका स्विमिङ पुल, गेट र पर्खालसमेत भत्काइएको छ। बिहान साढे ४ बजेदेखि नै प्रहरी परिचालन गरी संरचना हटाउन सुरु गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय कास्की, बैदाम प्रहरी, नगर प्रहरी तथा सशस्त्र प्रहरीसहित झण्डै डेढ सय सुरक्षाकर्मी परिचालन गरिएको थियो। कास्की प्रहरीका प्रवक्ता हरीबहादुर बस्नेतका अनुसार बिहानैदेखि करिब ३० वटा संरचनामा डोजर चलाइएको हो।
संरचना हटाउने क्रममा ठूलो अवरोध नभए पनि केही स्थानीयले सामान्य असहमति जनाएका थिए। मध्यरातमा काठमाडौँबाट निर्देशन आएपछि सम्बन्धित निकायबीच समन्वय गरी कार्य अघि बढाइएको जनाइएको छ।
सर्वोच्च अदालतको आदेशपछि प्रदेश सरकारसँगको समन्वयमा ताल किनारको ६५ मिटर सीमाना निर्धारणको काम भइरहेको र सोहीअनुसार अवैध संरचना हटाउने अभियान तीव्र बनाइएको जनाइएको छ।

