Harsamaya
मध्यपूर्व युद्धका कारण ३८ नेपालीको शव स्वदेश ल्याउन ढिलाइ
परराष्ट्र मन्त्रालय ।

काठमाडौं - परराष्ट्र मन्त्रालयले इजरायल–अमेरिका र इरानबीच जारी युद्धका कारण मध्यपूर्वमा मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको जनाएको छ।

मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर क्षेत्रीले युद्धका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा शव ल्याउन ढिलाइ भएको जानकारी दिए।

उनका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अभिभमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ गरी कुल ३८ शव नेपाल ल्याउन बाँकी छन्।

मन्त्रालयका अनुसार विभिन्न समयमा मृत्यु भएका ती नेपालीको शव स्वदेश ल्याउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको छ। साथै, जारी द्वन्द्वका क्रममा हालसम्म एक नेपालीको मृत्यु भएको र २१ जना घाइते भएको जानकारी दिइएको छ।

युद्धका कारण असहज अवस्थामा रहेका नेपालीहरूको विवरण संकलन तथा सम्भावित उद्धारका लागि कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमार्फत हालसम्म ८६ हजार ४ सय २० जनाले दर्ता गराएका छन्।

यस्तै, ट्रान्जिटमा फसेका नेपालीहरूको व्यवस्थापन भइसकेको जनाउँदै कुवेतमा रहेका दुई नेपालीले साउदी अरबको भिसा पाए पनि आफ्नै इच्छाले हाललाई त्यहीँ बसिरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो समय आफू असुरक्षित रहेको जानकारी गराउने नेपालीको संख्या क्रमशः घट्दै गएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १६:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update