Harsamaya
ओली-लेखक पक्राउविरुद्ध एमालेले गर्यो चरणबद्ध आन्दोलनको घोषणा
एमाले सचिवालय बैठक ।

काठमाडौं - नेकपा (एमाले)ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ।

पार्टी सचिवालय बैठकले उक्त गिरफ्तारीलाई ‘प्रतिशोधपूर्ण र बदला–प्रेरित’ भन्दै त्यसविरुद्ध भएको शान्तिपूर्ण आन्दोलनमा सरकारले प्रहरीमार्फत दमन गरेको आरोप लगाउँदै कडा भर्त्सना गरेको हो।

बैठकले चैत २५ गतेसम्म जिल्ला तहमा बृहत भेला गर्ने, चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने र वैशाख ३ गते वडा तहमा भेला गर्ने कार्यक्रम तय गरेको छ। त्यसैगरी वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन तथा वैशाख १२ गते काठमाडौँमा विशाल विरोध प्रदर्शन गर्ने निर्णय गरिएको छ।

यस्तै, पार्टीका जनसंगठनहरूले पनि आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गरी आन्दोलनलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ। यसका लागि भोलि ११ बजे पार्टी कार्यालयमा जनसंगठन संयन्त्रको बैठक बस्ने जनाइएको छ।

सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीनबहादुर शाहीलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिइएको छ। संसदीय दलको बैठक भोलि ३ बजे बस्ने जनाइएको छ।

आन्दोलनका थप कार्यक्रम तय गर्न चाँडै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय भएको जानकारी पार्टी सचिव महेश बस्नेतले दिएका छन्।

प्रकाशित मिति: मंगलबार, चैत १७, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update