Harsamaya
सांसद राईले प्रधानमन्त्री बालेनलाई भेटेर राखे निर्वाचन क्षेत्रका यी मागहरु 
निश्कल राईः सांसद/इलाम क्षेत्र नम्बर १

काठमाडौं - इलाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद निश्कल राईले जिल्लामा प्राकृतिक विपत्तिबाट भएको क्षतिको राहत साथै कृषि क्षेत्रका समस्या र पर्यटन विकासमा ध्यान दिन प्रधानमन्त्री बालेन्द्र शाहसँग माग राखेका छन् । सोमबार प्रधानमन्त्री शाहले राखेको सांसदहरुसँगको छलफलमा राईले संविधान कार्यान्वयनका क्रममा देखिएका समस्याहरुपनि अवगत गराएको बताए ।

‘प्रधानमन्त्रीज्यूसँग क्रमवद्ध रुपमा मागहरु अगाडि राखेको छु । प्रारम्भमा प्रतिनिधि सभा बैंठक चाँडो भन्दा चाँडो आब्हान गर्न माग राखें । अगाडिका सरकारले प्रथम, दोस्रो र तेस्रो प्राथमिकतामा राखेका विधेयकहरुमाथि तत्काल छलफल थाल्न पनि भनेको छु,’ उनले भने,‘सरकारले अगाडि बढाएका एकसय बुँदाका कार्य योजना कार्यान्वयन गर्नपनि कानूनी जटिलताहरु रहेकाले त्यसको समाधानका लागि पनि संसद आब्हानको माग गरेको छु ।’

सांसद राईले वर्षाद्को मौसम सुरु भइसकेकाले इलामलगायत विभिन्न जिल्लामा भएका दैवि प्रकोपको क्षतिलाई ‘डिजास्टर हिट जोन’का रुपमा घोषणा भइसकेको उल्लेख गर्दै त्यसको लागि तत्काल आवश्यक कदम चाल्न माग गरे । जिल्लामा विपत्तिमा परेर १३२ पूर्ण क्षतिग्रस्त भएको, २७६ वटा परिवारहरु विस्थापित र ४०१ वटा घरहरुमा सामान्य क्षति भएकाले उनीहरुका लागि बजेट विनियोजन र विनियोजित बजेटको कार्यान्वयनमा जोड दिएका छन् ।

त्यस्तै क्षति भएका विद्युत आयोजना, पुल तथा सडकहरुको काम तत्काल सुरु गर्न पनि माग गरेको जानकारी दिए । ‘विपत जोखिम न्यूनीकरण र पूर्वतयारी गर्ने कुरामा पनि सरकारको ध्यान जाओस् भन्ने कुरा राखेको छु,’ राईले भने ।

सांसद राईले इलाममा उत्पादन हुने चिया, अलैंची, दुध, सुपारी, कफी साथै जडीवुटीको व्यवसायमा देखिएका समस्याहरु तत्काल समाधानका लागि माग समेत गरेका छन् । राईले भारत निर्यात हुने नेपाली चियामाथिको भारतीय सिन्डिकेट तोड्न, बजार व्यवस्थित बनाउन साथै कृषिजन्य उत्पादनमा ध्यान दिन पनि आग्रह गरेका छन् ।

उनले पर्यटन सुधार गर्नका लागि सीमा सडकको रुपमा रहेको काकाभिट्टा–चिवाभञ्चांङ प्रथम प्राथमिकतामा राख्न, भारततर्फ अध्यागमन राख्नका लागि भारत सरकारसँग पहल गर्न, माई तटबन्धन निर्माण, मेची कोरिडोर साथै इलाम सदरमुकाम जाने वैकल्पिक मार्गको कामलाई प्राथमिकता दिन सांसद राईले प्रधानमन्त्री समक्ष माग राखेका छन्।

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update