Harsamaya
कांग्रेसको १५औं महाधिवेशन भदौ २४–२६ मा गर्ने तयारी
नेपाली कांग्रेस केन्द्रीय कार्यालय ।

काठमाडौं - नेपाली कांग्रेसले आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौं मा १५औं महाधिवेशन गर्ने प्रस्ताव अघि सारेको छ। उक्त कार्यतालिका मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने भएको छ।

प्रस्तावित तालिकाअनुसार चैत २१ गतेदेखि मसान्तसम्म देशभरका सबै तहमा क्रियाशील सदस्यता फारम पुर्‍याइनेछ भने सदस्यता वितरण तथा अद्यावधिक कार्यलाई व्यवस्थित बनाउन १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाइने योजना छ।

यस्तै, २०८३ वैशाख १ गतेदेखि मसान्तसम्म ६ हजार ७४३ वडामा सदस्यता वितरण र अद्यावधिक अभियान सञ्चालन गरिनेछ। प्रत्येक सदस्यले आफू आबद्ध वडामै सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। साथै, वडा र क्षेत्रीय कार्यसमितिलाई आईडी तथा पासवर्ड वितरण गरी एक महिने अभियान चलाइनेछ।

जेठ १ देखि १५ गतेसम्म वडाबाट प्रतिनिधिसभा क्षेत्र र जिल्लामा सदस्यता विवरण बुझाइनेछ भने क्षेत्र र जिल्लाले विवरण इन्ट्री गरी जेठ २५ गतेसम्म केन्द्रमा पठाउने कार्यतालिका छ। उजुरीउपर छानबिन गरी जेठ मसान्तसम्म केन्द्रमा पठाउने पनि प्रस्तावमा उल्लेख छ।

असार १५ गतेसम्म केन्द्रले सदस्यताको अन्तिम टुंगो लगाउनेछ। यसक्रममा पुनरावेदन, विवाद समाधान तथा सदस्यता रुजु गरी अन्तिम सूची तयार पारिनेछ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सो सूची असार १५ भित्र केन्द्रीय कार्यसमितिलाई बुझाउनुपर्नेछ।

बैठकमा प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन, भ्रातृ तथा शुभेच्छुक संस्थाको भूमिका लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ।

यसैबीच, पार्टी सभापति गगन थापा ले निर्वाचनमा पराजयपछि नैतिक जिम्मेवारी लिँदै दिएको राजीनामा भने केन्द्रीय समितिले अस्वीकृत गरिसकेको छ।

प्रकाशित मिति: मंगलबार, चैत १०, २०८२  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update