काठमाडौं - नेपालबाट हुने अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ। युद्धको असरका कारण मध्यपूर्वको हवाइ क्षेत्रमा भएको प्रतिबन्धका कारण हवाई उडान रद्द भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार हवाई क्षेत्रमा लगाइएको प्रतिबन्धले गर्दा आजका लागि तय गरिएका विभिन्न वायुसेवा कम्पनीका उडानहरू रद्द भएका छन्।
विमानस्थल कार्यालयले जारी गरेको सूचना अनुसार, आज जजिरा एयरवेज, कुवेत एयरवेज, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका दर्जनौं उडानहरू रद्द गरिएका छन्। विशेषगरी कुवेत, दुबई, दोहा र दमाम जस्ता प्रमुख गन्तव्यका उडानहरू प्रभावित भएका हुन्। रद्द भएका उडानहरूमा जजिराको कुवेत-काठमाडौं, कुवेत एयरवेजको कुवेत-काठमाडौं र फ्लाई दुबईको दुबई-काठमाडौं सेक्टर रहेका छन्।
त्यसैगरी, नेपाल एयरलाइन्सका दोहा र दुबई उडानहरू तथा कतार एयरवेजका दोहा-काठमाडौं सेक्टरका दुईवटा उडानहरू पनि रद्द भएका छन्। हिमालय एयरलाइन्सले दोहा र दमामका लागि तय गरेका उडानहरू समेत स्थगित भएका छन्।
विमानस्थल प्रशासनले मध्यपूर्वको असहज परिस्थितिका कारण अन्य अन्तर्राष्ट्रिय उडानहरू पनि ढिलाइ हुन सक्ने, पुनःतालिका हुने वा रद्द हुन सक्ने सम्भावना रहेको जनाएको छ। विमानस्थलले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन सम्बन्धित एयरलाइन्स र सरोकारवाला निकायहरूसँग नजिकबाट समन्वय गरिरहेको जानकारी दिएको छ।

