काभ्रेपलाञ्चोक - अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक देखि धुलिखेल सम्म ६ लेनमा सडक विस्तारको काम भइरहेको छ। करिब १६ किलोमिटर लामो उक्त सडक विस्तारमा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ।
दुई लेन रहेको सडकलाई ६ लेनमा विस्तार गर्दै दायाँबायाँ सर्भिस लेन र २.५ मिटर चौडाइको फुटपाथ निर्माण भइरहेको छ। परियोजनाको समयावधि सकिएपछि गत मङ्सिरमा थप एक वर्ष म्याद बढाइएको थियो।
साँगा–धुलिखेल आठ किलोमिटर खण्डको ठेक्का लामा कन्स्ट्रक्सनले चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा लिएको थियो, जहाँ हाल करिब ६० प्रतिशत काम सम्पन्न भएको छ। त्यस्तै सूर्यविनायक–साँगा खण्डमा करिब ५५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ।
सडक निर्माणअन्तर्गत टेवा पर्खाल, नाली तथा कल्भर्ट निर्माण भइरहेको छ। साथै तीन पुलमध्ये एक पुल महादेव खोलामा निर्माण भइरहेको छ भने अन्य दुई पुलको डिजाइन पूरा भइसकेको आयोजनाले जनाएको छ।
तातोपानी नाका सञ्चालनमा आएपछि यस राजमार्गमा सवारी चाप बढ्दै गएको छ। हाल कोटेश्वरबाट मात्रै दैनिक दुई हजार पाँच सयभन्दा बढी सवारी यस सडकमार्फत आवतजावत गर्ने गरेका छन्।

