काठमाडौं - चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म मुलुकले झण्डै ११ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आठ महिनामा कुल वैदेशिक व्यापार १४ खर्ब ४० अर्ब ३६ करोड २२ लाख पुगेको छ, जसमा १० खर्ब ९८ अर्ब १३ करोड ८२ लाख रुपैयाँ व्यापार घाटा रहेको छ।
यस अवधिमा नेपालले १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने १ खर्ब ९१ अर्ब ११ करोड २० लाख रुपैयाँको निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १२.५४ प्रतिशत र निर्यात २९.८३ प्रतिशतले बढेको विभागले जनाएको छ।
छिमेकी भारत सँग मात्रै पाँच खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा भएको छ। यस अवधिमा भारतबाट सात खर्ब २४ अर्ब ६ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा एक खर्ब ५६ अर्ब ६६ करोड रुपैयाँको मात्र निर्यात भएको छ। यस्तै चीन सँग दुई खर्ब ६४ अर्ब ६८ करोड रुपैयाँ व्यापार घाटा रहेको छ।
पछिल्लो आठ महिनामा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी भएको छ। सो अवधिमा ८२ अर्ब १० करोड रुपैयाँको डिजेल, ४३ अर्ब ८९ करोड रुपैयाँको पेट्रोल र ३७ अर्ब ३१ करोड रुपैयाँको एलपी ग्यास आयात भएको विभागले जनाएको छ।
निर्याततर्फ भने भटमास तेल सबैभन्दा अगाडि रहेको छ। यस अवधिमा ७५ अर्ब ७७ करोड रुपैयाँ बराबरको भटमास तेल निर्यात भएको छ भने अलैँची, कार्पेट र सूर्यमुखी तेल पनि प्रमुख निर्यातित वस्तुका रूपमा रहेका छन्।

