काठमाडौं - सम्बद्ध सरकारी निकायले पर्यटकीय भिसामा नेपाल भ्रमणमा आएका विदेशी नागरिकलाई देशका विभिन्न क्लबबाट फुटबल खेलाइएको विषयमा छानबिन अगाडि बढाइरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘एन्फा राष्ट्रिय लिग’का केही खेल अनिश्चितकालका लागि स्थगित गरेको छ ।
एन्फाले बिहीबार विज्ञप्ति जारी गर्दै एन्फा राष्ट्रिय लिगको म्याच नम्बर ९७ तथा म्यान नम्बर १०० देखि १३६ सम्मका खेल स्थगित गरिएको जनाएको छ । एन्फाले यस सम्बन्धी जानकारी राष्ट्रिय लिगमा सहभागी क्लबहरूलाई समेत गराएको छ ।
‘एन्फाको आयोजनामा पुस ३० गतेबाट सञ्चालन भइरहेको राष्ट्रिय लिगका म्याच नम्बर ९७ तथा १००–१३६ का खेल प्राविधिक कारणवश अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ,’ एन्फाका प्रमुख कार्यकारी अधिकृत ईन्द्रमान तुलाधरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
यसअघि, बिहीबार नै अध्यागमन विभागले पर्यटकीय भिसामा नेपाल भ्रमणमा आएका विदेशीलाई कुनै पनि प्रतियोगितामा सहभागी नगराउन एन्फालाई निर्देशनदिएको थियो । विभागद्वारा एन्फालाई औपचारिक रूपमा पठाइएको पत्रमा कानूनी प्रक्रिया पूरा गरेर र श्रम स्वीकृति लिएर मात्र विदेशी खेलाडीलाई खेलमा सहभागी गराउन भनिएको थियो ।
‘एन्फाबाट सञ्चालन भइरहेको महिला तथा पुरुष लिग फुटबलमा सहभागी क्लबहरूले पर्यटक भिसा लिएका विदेशी खेलाडीलाई समावेश गरेको भन्ने उजुरी विभागमा प्राप्त हुन आएको छ,’ विभागका निर्देशक टीकाराम ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
पर्यटक भिसा लिएका विदेशी खेलाडीलाई महिला तथा पुरुष लिगमा खेलाइएको विषयमा विभागले बिहीबारदेखि नै अनुगमन सुरु गरेको पनि पत्रमा उल्लेख छ ।
पर्यटक भिसामा नेपाल घुम्न आएका विदेशीलाई खेलाडीका रूपमा राष्ट्रिय लिगमा सहभागी गराइएको विषयमा सम्बन्धित सरकारी निकायमा उजुरी पनि परेको छ । नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि यस विषयमा एन्फासँग विस्तृत विवरण माग गरेको छ ।

