Harsamaya
कांग्रेसको हारबारे पूर्व उपसभापति धनराज गुरुङको कटाक्ष : ‘देख्नेलाई लाज हुन्छ’
कांग्रेसका पूर्व उपसभापति धनराज गुरुङ ।

काठमाडौं - कांग्रेसका पूर्व उपसभापति धनराज गुरुङले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको हारबारे नेतृत्वमाथि कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले पार्टीभित्र दूरदृष्टिको अभाव र जिम्मेवारी लिन नसक्ने प्रवृत्तिका कारण पराजय भएको बताएका हुन्।

गुरुङले भदौ २३/२४ को घटनापछि बसेको पहिलो कार्यसम्पादन समिति बैठकमै आफूले ‘यो पहिलो एपिसोड हो, दोस्रो एपिसोड बाँकी छ’भनेर चेतावनी दिएको दाबी गरेका छन्। उनले उक्त विषय औपचारिक र अनौपचारिक बैठकहरूमा पटक–पटक दोहोर्‍याए पनि पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी तथा वरिष्ठ नेताहरूले त्यसलाई गम्भीर रूपमा नलिएको बताएका छन्।

उनका अनुसार आफूले भनेजस्तै दोस्रो ‘एपिसोड’ फागुन २१ को निर्वाचनका रूपमा आएको हो । ‘धेरैलाई यो भदौ २३/२४ को घटनाकै दोस्रो एपिसोड हो भन्ने थाहा भएन, थाहा पाउँदासम्म ढिला भइसकेको थियो,’ उनले उल्लेख गरेका छन्।

गुरुङले केही नेताहरूले चुनाव लड्ने कि नलड्ने भनेर आफूलाई सोधेको र आफूले चुनाव नलड्न सुझाव दिएको पनि बताएका छन्। तर उनीहरू चुनावमा होमिएर अन्ततः पराजित भएको उल्लेख गर्दै उनले अहिले पछुताउनुको अर्थ नभएको टिप्पणी गरेका छन्।

उनले राजनीतिमा विभिन्न घटनाक्रम आउनु स्वाभाविक भए पनि सम्भावित परिस्थितिको आँकलन गर्न नसक्नु नेतृत्वको अदूरदर्शिता भएको बताए। साथै चुनावका बेला पार्टीभित्रकै विवाद र आन्तरिक खिचातानीले पनि हार निम्त्याएको उनको भनाइ छ।

गुरुङले ऐतिहासिक सन्दर्भ उल्लेख गर्दै विपी कोइरालाले २०३४ सालमा इजलासमा उभिएर आन्दोलनका क्रममा भएका घटनाको जिम्मेवारी आफूले लिने बताएका प्रसंग सम्झाएका छन्। आफूहरू वीपीका अनुयायी भएको दाबी गर्ने नेताहरूले भने पार्टीको पराजयको जिम्मेवारी लिन नसकेको उनले संकेत गरेका छन्।

‘सामाजिक सञ्जालका भित्ताहरू रंग्याएर लाज छोपिन्न। लाज हरायो भन्दैमा बाटोमा निर्वस्त्र हिँड्नु हुँदैन, किनकि देख्नेलाई लाज हुन्छ,’भन्दै गुरुङले पार्टीभित्र जिम्मेवार ढंगले आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

dhanraj-1773655904.JPG

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update