काठमाडौं - जेन्जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते भएको आन्दोलनका घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै जेन्जी आन्दोलनमा भएका हत्या, आगजनी र हिंसात्मक घटनाको सत्य तथ्य बाहिर ल्याई दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् । सङ्गठनले प्रतिवेदन सार्वजनिक नगरेसम्म देशमा न्याय र स्थायित्व स्थापित हुन नसक्ने जनाएको छ ।
पारदर्शिता र उत्तरदायित्वको माग गदै आन्दोलनको प्रतिवेदन नै गोप्य राखिनु पूर्ण रूपमा अस्वीकार्य हुने बताइएको छ । सत्य लुकाएर वा दोषीलाई संरक्षण गरेर कुनै पनि राजनीतिक प्रक्रिया अघि बढाउन खोजिनु जनभावना र लोकतान्त्रिक मूल्यविरुद्ध हुने सङ्गठनको भनाई छ ।
जेन्जी मुभमेन्ट नेपालले जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएपछि मात्रै नयाँ सरकार गठन गर्नुपर्ने स्पष्ट धारणा राखेको छ ।
जेन्जी मुभमेन्ट नेपालले आज माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन आयोजना गरिने बताइएको छ । साथै देशभर एकैसाथ विरोध प्रदर्शन गर्न सर्वसाधारणलाई सहभागी हुन सङ्गठनले अपिल समेत गरेको छ ।

