Harsamaya
एनआरएनएमा ४० प्रतिशत युवाको सहभागिता सुनिश्चित हुनुपर्छ : मदनराज पौडेल
गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनमा युवा उपाध्यक्षका उम्मेदवार मदनराज पौडेल ।

काठमाडौं - काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनमा युवा उपाध्यक्षका उम्मेदवार मदनराज पौडेलले संस्थामा ४० प्रतिशत युवाको सहभागिता सुनिश्चित हुनुपर्ने बताएका छन् ।

पौडेलले एनआरएनएको संरचनामा युवाहरूको प्रतिनिधित्व अपेक्षाकृत कम रहेको उल्लेख गर्दै विभिन्न तह र पदमा युवाहरूको सहभागिता बढाउन आवश्यक रहेको बताए । उनले विधानमै कम्तीमा ४० प्रतिशत युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरे ।

‘विभिन्न तहका कार्यसमितिमा युवाहरूको सहभागिता हुनुपर्ने अनुपातमा देखिँदैन। त्यसैले विधानमै ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आवाज उठाइरहेको छु,’उनले भने ।

पौडेलले आफ्नो उम्मेदवारीप्रति विभिन्न देशमा रहेका युवा नेपालीहरू उत्साहित रहेको दाबी गर्दै युवाहरूको सामूहिक चाहना र आग्रहका आधारमा आफूले उम्मेदवारी दिएको बताएका छन् ।

एनआरएनएको आगामी २०२५–२०२७ कार्यकालका लागि युवा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका पौडेलले ‘सहयात्रा दोस्रो पुस्तासँग’ भन्ने मूल नाराका साथ चुनावी मैदानमा रहेको पनि बताए ।

‘धेरै युवा साथीहरूले ‘तपाईं हाम्रो प्रतिनिधित्व गर्नुस्’ भनेर आग्रह गरेकाले विश्वभर रहेका युवाहरूको भावनालाई सम्मान सम्मान स्वरुप अगाडि बढेको धारणा राखे ।

उनका अनुसार एनआरएनए अहिले इतिहासकै संवेदनशील मोडमा रहेको छ । उनले संस्थाभित्र विगत केही समयदेखि देखिएका विवाद, असहमति र समस्यालाई समाधान गर्दै संगठनलाई एकताबद्ध बनाउने आवश्यकता औंल्याए ।

‘लामो समयदेखि विभिन्न असहमतिहरू र विवाद देखिएका छन् । यो महाधिवेशनले एकताको सन्देश दिँदै नयाँ नेतृत्वमार्फत संस्थालाई सकारात्मक दिशामा अघि बढाउनेछ भन्ने विश्वास छ,’उनले भने ।

उनका अनुसार आगामी १२औँ महाधिवेशनले एनआरएनएलाई नयाँ दिशा दिने र संस्थाभित्र देखिएका समस्याहरू समाधान गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।

पौडेलका अनुसार एनआरएनए विश्वभर रहेका करिब ८० लाख नेपालीहरूको साझा संस्था हो । प्रवासमा बसोबास गर्ने नेपाली समुदायको हित, अधिकार र पहिचानका लागि स्थापना भएको यस संस्थाले अब विदेशमा जन्मिएका दोस्रो पुस्ताका नेपाली युवाहरूलाई नेपालसँग जोड्ने अभियानलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ ।

उनले विदेशमा जन्मिएका १५ देखि २५ वर्ष उमेर समूहका हजारौँ नेपाली युवाहरूलाई नेपालको भाषा, संस्कृति, परम्परा र पहिचानसँग जोड्न आवश्यक रहेको बताए ।

‘विदेशमा जन्मिएका दोस्रो पुस्ताका भाइबहिनीहरूलाई नेपालको माटो, भाषा र संस्कृतिसँग जोड्नु अहिलेको सबैभन्दा ठूलो चुनौती हो,’ उनले भने, ‘यदि म निर्वाचित भएँ भने दोस्रो पुस्ताका युवाहरूको डाटाबेस तयार गरी उनीहरूलाई एनआरएन अभियान र नेपालको विकाससँग जोड्ने कार्यक्रम अघि बढाउनेछु ।’

उनका अनुसार हाल विश्वका विभिन्न देशमा रहेका नेपाली युवाहरू स्वास्थ्य, शिक्षा, सूचना प्रविधि, बैंकिङ, अनुसन्धान तथा विभिन्न पेशागत क्षेत्रमा उल्लेखनीय रूपमा सक्रिय छन् । ती युवाहरूको सीप, ज्ञान र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको विकाससँग जोड्न सके देशले ठूलो लाभ लिन सक्ने उनको विश्वास छ ।

पौडेलले एनआरएनएले नेपाल सरकारसँग सहकार्य गर्दै प्रवासमा रहेका नेपालीहरूको अनुभव, सीप र लगानीलाई राष्ट्र निर्माणमा उपयोग गर्ने वातावरण बनाउनुपर्ने पनि बताए ।

नेपालमा पछिल्लो समय युवाहरूको राजनीतिक तथा नीतिनिर्माण तहमा बढ्दो सहभागिताले एनआरएनएमा पनि नयाँ सोच र नयाँ नेतृत्वको आवश्यकता देखिएको उनले बताए ।

विश्वभर रहेका एनआरएनए प्रतिनिधि, अभियन्ता तथा महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूलाई सम्बोधन गर्दै पौडेलले आफूलाई समर्थन गर्न अपिल गरेका छन् । उनले आफू निर्वाचित भएमा संस्थाभित्र एकताको सन्देश दिँदै युवाहरूको सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरामा जन्मिएका पौडेलले वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन् । सन् २०१५ देखि अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्दै आएका उनले एनआरएनए अष्ट्रेलियामा विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्। हाल उनी अन्तर्राष्ट्रिय समन्वय परिषद्–आईसीसका सदस्यका रूपमा सक्रिय छन् ।

एनआरएनए अभियानमा लामो समयदेखि संलग्न रहँदै आएका पौडेलले प्रवासमा रहेका नेपाली युवाहरूलाई संगठित गर्दै संस्थालाई नयाँ उचाइमा पुर्याउने लक्ष्यका साथ आफू चुनावी मैदानमा उत्रिएको बताएका छन् । उनले दोस्रो पुस्तालाई नेपालसँग जोड्ने अभियानलाई संस्थागत रूपमा अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update