काठमाडौं - निर्वाचन आयोग नेपालले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ दलहरूले पाउने सीट सङ्ख्या टुंगो लगाएको छ।
आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार देशभरिबाट प्राप्त समानुपातिक मतमध्ये तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्ने ६ वटा राजनीतिक दलबीच ११० सीट बाँडफाँट गरिएको हो।
पछिल्लो परिणाम अनुसार ५१ लाख ८३ हजारभन्दा बढी मत प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५७ सीट प्राप्त गरेको छ।
त्यसैगरी १७ लाख ५९ हजार मत पाएको नेपाली कांग्रेसले २० सीट जितेको छ भने १४ लाख ५५ हजार मत पाएको नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १६ सीट पाएको छ। यसैगरी नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ९ सीट पाएको आयोगले जनाएको छ।
पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार मत पाएर ४ सीट हात पारेको छ।
त्यस्तै ३ लाख ३० हजार मत प्राप्त गरी तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्ने अन्तिम दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समानुपातिकतर्फ ४ सीट प्राप्त गरेको छ।


