Harsamaya
ओमानको तेल भण्डारमा ड्रोन प्रहार

ओमान : ओमानको दक्षिणी सहर सलालाह बन्दरगाहमा रहेको तेल भण्डारण ट्याङ्कहरूमा ड्रोन आक्रमण भएको छ। ओमानको सरकारी सञ्चारमाध्यमका अनुसार ड्रोन आक्रमणपछि बन्दरगाहको इन्धन भण्डारण ट्याङ्कहरूमा आगो लागेको छ।

आक्रमणको पछाडि कसको हात छ भन्ने कुरा अझै स्पष्ट भएको छैन। समुद्री सुरक्षा कम्पनी एम्ब्रेयरले घटनामा बन्दरगाहमा रहेका कुनै पनि व्यापारिक जहाजलाई क्षति नभएको बताएको छ।

घटनापछि ओमानका सुल्तान हैथम बिन तारिक अल-सैदले इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग फोनमा कुरा गर्दै ओमानी भूभागमा भएका आक्रमणप्रति असन्तुष्टि जनाएका छन्।

उनले ओमानले आफ्नो सुरक्षा र स्थिरता कायम राख्न सबै आवश्यक कदम चाल्ने पनि बताएका छन्। अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता हानाहान जारी छ। 

जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ। यसैबिच अमेरिका-इजरायलको आक्रमणबाट अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानले बताएको छ। 

संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सइद इरावनीका अनुसार देशका ९ हजार ६०० वटा आवासीय क्षेत्रमा आक्रमण गरिएको छ। हमलामा घर, बजार, अस्पताल, चिकित्सा केन्द्र र विद्यालय परेका छन्।

 

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  ०८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update