Harsamaya
युरोप तयार भए ऊर्जा आपूर्तिमा सहकार्य गर्न रूस तयार : पुटिन
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन .

काठमाडौं - रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरूले सकारात्मक संकेत दिए रूस तेल तथा प्राकृतिक ग्यास आपूर्तिमा सहकार्य गर्न तयार रहेको बताएका छन्।

रूसका राष्ट्रपति पुटिनले दीर्घकालीन, स्थिर र राजनीतिक दबाबबाट मुक्त सहकार्य भएमा ऊर्जा आपूर्ति दुवै पक्षका लागि लाभदायी हुने बताएका हुन्। सोमबार आयोजित एक कार्यक्रममा बोल्दै उनले युरोपेली कम्पनीहरू र ऊर्जा खरिदकर्ताहरू दीर्घकालीन तथा दिगो सहकार्यतर्फ अघि बढे रूस त्यसका लागि खुला रहने उल्लेख गरे।

उनले रूसले विगतमा पनि ऊर्जा आपूर्ति सम्बन्धी सहकार्य अस्वीकार नगरेको र भविष्यमा पनि पारस्परिक हितका आधारमा सहकार्य जारी राख्न इच्छुक रहेको बताए।

पुटिनको यो अभिव्यक्ति हाल मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र त्यसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा देखिएको तीव्र वृद्धिका बीच आएको हो। विश्लेषकहरूका अनुसार क्षेत्रीय द्वन्द्वले विश्व ऊर्जा बजारमा अस्थिरता बढाउन सक्ने सम्भावना रहेको छ।

यसैबीच उनले युरोपेली संघले आगामी अप्रिलदेखि रूसबाट ऊर्जा स्रोत खरिदमा थप प्रतिबन्ध लगाउने योजना बनाएको जानकारी पनि दिएका छन्। उनका अनुसार युरोपेली संघले सन् २०२७ सम्म रूसबाट हुने ऊर्जा आयात पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य लिएको छ।

पुटिनले यस परिस्थितिमा रूस सरकारले युरोपतर्फको ऊर्जा आपूर्तिसम्बन्धी नीति र सम्भावनाबारे अध्ययन गर्न सम्बन्धित निकायलाई जिम्मेवारी दिएको बताए। साथै रूसले आफ्ना ऊर्जा निर्यातलाई अन्य आकर्षक बजारतर्फ विस्तार गर्दै नयाँ साझेदारी सुदृढ गर्नुपर्ने आवश्यकता रहेको पनि उनले उल्लेख गरे।

उनका अनुसार रूस अझै पनि विश्वसनीय ऊर्जा आपूर्तिकर्ता राष्ट्रका रूपमा रहेको छ र विश्वासिलो साझेदार देशहरूसँग तेल तथा ग्यास आपूर्ति सम्बन्धी सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता कायम राखेको छ। साथै उनले एशिया–प्रशान्त क्षेत्रका देश तथा पूर्वी युरोपका केही राष्ट्रहरूसँग ऊर्जा सहकार्य जारी रहेको जानकारी पनि दिएका छन्।

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update