Harsamaya
सुर्खेतमा किशोरीको शंकास्पद मृत्यु प्रकरण : चार नाबालक पक्राउ, बलात्कारपछि हत्या भएको आशंका
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं - सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया किशोरीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले चार नाबालकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत का अनुसार १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरिएको आशंकामा वीरेन्द्रनगरकै चार जना १८ वर्षमुनिका किशोरलाई नियन्त्रणमा लिइएको हो।

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी इनिसाको फागुन २३ गते मृत्यु भएको थियो। सोही दिन बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा उनी बेहोस अवस्थामा फेला परेकी थिइन्। स्थानीयले तत्काल उनलाई प्रदेश अस्पताल कालागाउँ पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

इनिसा वीरेन्द्रनगर–६ मा रहेको उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्। परिवारका अनुसार उनी फागुन २३ गते बिहान करिब ६ बजे ‘ट्युसन पढ्न जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन्। सामान्यतया बिहान ८ बजेसम्म घर फर्किने गरे पनि सो दिन ९ बजेसम्म नफर्किएपछि आमाले फोन गर्दा मोबाइल स्विच अफ भएको थियो।

केही समयपछि अज्ञात नम्बरबाट फोन गरेर शहीद पार्क नजिकको जंगलमा छोरी बेहोस अवस्थामा रहेको जानकारी दिइएको परिवारले जनाएको छ। घटनास्थल पुगेका परिवारजनले छोरी बेहोस अवस्थामा रहेको र शरीरभरि रगत लागेको देखेको बताएका छन्। त्यसपछि स्थानीयको सहयोगमा उनलाई अस्पताल पुर्‍याइएको थियो।

मृतकका आफन्तले सामूहिक बलात्कारपछि हत्या गरिएको आशंकासहित फागुन २४ गते प्रहरीमा जाहेरी दिएका छन्। मोहनजंग बुढथापा का अनुसार घटनाको दिन नै एक १६ वर्षीय किशोरलाई पक्राउ गरिएको थियो भने थप अनुसन्धानका क्रममा अर्को दिन अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको हो।

प्रहरीले घटनालाई गम्भीरतापूर्वक अनुसन्धान भइरहेको जनाएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको वास्तविक कारणबारे थप निष्कर्षमा पुगिने प्रहरीको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update