Harsamaya
बजारमा फैलाइएका हल्ला र भ्रममा नपर्न सुनिल शर्माको आग्रह
नेपाली कांग्रेसका नेता सुनिल शर्मा ।

काठमाडौं - नेपाली कांग्रेसका नेता सुनिल शर्माले बजारमा फैलाइएका विभिन्न हल्ला तथा भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनले आफूले सञ्चालन गर्दै आएका स्वास्थ्य संस्थामार्फत नागरिकलाई प्रदान गरिँदै आएको सेवा यथावत् रूपमा निरन्तर रहने स्पष्ट पारेका छन्।

शर्माले सञ्चालनमा रहेका नोबेल मेडिकल कलेज र काठमाडौँ मेडिकल कलेज मार्फत विगतदेखि नै नागरिकहरूको सेवा र सहयोगका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको बताएका छन्। विशेषगरी आर्थिक अवस्था कमजोर भएका नागरिकलाई प्राथमिकतामा राख्दै छुटदेखि निःशुल्क उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको उनको भनाइ छ।

उनका अनुसार यस्ता सेवा तथा सुविधाहरू देशका विभिन्न स्थानका वडा तथा जिल्लामार्फत उचित प्रक्रिया र आधिकारिक माध्यमबाट उपलब्ध गराइँदै आएको छ। नागरिकको आवश्यकता र आर्थिक अवस्थालाई ध्यानमा राखी सेवा पुर्‍याउने प्रयास निरन्तर भइरहेको उनले उल्लेख गरेका छन्।

शर्माले चुनावमा हार वा जित हुनु र सामाजिक सेवा तथा सत्कर्मबीच कुनै सम्बन्ध नरहेको पनि स्पष्ट पारे। समाज र राष्ट्रप्रतिको दायित्वलाई आत्मसात गर्दै यस्ता सेवा तथा सहयोगका कार्यहरू आगामी दिनहरूमा पनि देशभर निरन्तर रूपमा जारी रहने उनले बताए।

साथै उनले बजारमा फैलाइएका हल्ला वा भ्रममा नपर्न आग्रह गर्दै आवश्यक जानकारीका लागि सम्बन्धित वडामा रहेका संस्थासँग आबद्ध प्रतिनिधिसँग सम्पर्क गरी संस्थाको नियम र विधिअनुसार प्रक्रिया पूरा गर्न सबैमा अनुरोध गरेका छन्।

sunil-1773116174.JPG

प्रकाशित मिति: मंगलबार, फागुन २६, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update