Harsamaya
‘हामी ढलेका मात्र हौं, मरेका होइनौं’ : योगेश भट्टराई
एमालेका नेता योगेश भट्टराई ।

काठमाडौं - प्रतिनिधिसभा निर्वाचनपछि देखिएको परिणामबारे टिप्पणी गर्दै नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीभित्र गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्।

पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उनले निर्वाचनमा जनताले मतमार्फत पार्टीको नीति र नेतृत्वलाई अस्वीकृति दिएको स्वीकार गरेका छन्। ‘जनताले शान्तिपूर्ण रूपमा हाम्रो नीति र नेतृत्वलाई अस्वीकृति गरेका छन्, यो आजको वस्तुगत यथार्थ हो,’ उनले उल्लेख गरेका छन्।

उनका अनुसार भदौ २३ र २४ पछि पार्टीले लिएका केही नीतिहरूमा सुधार आवश्यक रहेको विषय पटक–पटक बैठक, भेटघाट र महाधिवेशनमार्फत उठाइए पनि त्यसले पर्याप्त ध्यान नपाएको दाबी गरिएको छ। अब पार्टीभित्र खुला बहस र छलफल आवश्यक रहेको उनको भनाइ छ।

निर्वाचन परिणामको जिम्मेवारी केवल एक व्यक्तिले मात्र नभई समग्र पार्टी संरचनाले लिनुपर्ने उनले बताएका छन्। विशेषगरी नीतिगत र कार्यकारी भूमिकामा रहेका केन्द्रीय कमिटी र सचिवालयले यसबारे गम्भीर रूपमा समीक्षा गर्नुपर्ने उनको धारणा छ।

पार्टीभित्र गुटबन्दीबाट माथि उठेर सामूहिक बुद्धि र पहलमार्फत वर्तमान अवस्थाबाट बाहिर निस्कन सकिने उनले उल्लेख गरेका छन्।

उनले पार्टीका सबै नेता, कार्यकर्ता तथा जनसंगठनलाई खुला बहसमा सहभागी हुन आह्वान गर्दै ‘हामी ढलेका मात्र हौं, मरेका होइनौं’भन्दै सही नीति, संगठन र नेतृत्वमार्फत पार्टी पुनः उठ्ने विश्वास व्यक्त गरेका छन्।

साथै उनले पार्टी, जनता र राष्ट्रको हितका लागि आत्मभर्त्सना होइन आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्।

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update