काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राजनीतिक दलको नेतृत्वले लाखौँ कार्यकर्ताको सङ्घर्ष र बलिदानीबाट निर्माण भएको दललाई उजाड बनाइदिएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभा सदस्यको निर्वाचनको परिणामबारे आफ्नो धारणा राख्दै बस्नेतले अहङ्कारी, उन्मादी र सन्की नेतृत्वले दलहरूलाई रसातलमा पुर्याएको बताएका हुन् ।
बस्नेतले भने, ‘लुइ चौधौँले म नै राज्य हुँ भने झैँ हाम्रो राजनीतिक दलको नेतृत्वले ‘मैले जे गरे पनि हुन्छ म नै नीति हुँ’ भन्ने ठान्यो । जसले गर्दा आजको यो अवस्था आयो ।’
कार्यकर्ता सार्वभौम हुन नसकेका कारण पार्टी नेतृत्वलाई ठिक ठाउँमा ल्याउन नसकिने अवस्था रहेकोमा नेतृत्वलाई मतदाताले आफ्नो ताकत देखाइदिएको उनको भनाइ छ ।
उनी भन्छन् ‘खुसीको कुरा भनौँ कि दुर्भाग्यको कुरा यी दलहरूको नेतृत्व अझैँ सच्चिने र सुध्रिने वाला छैन । अझ भनौँ यिनीहरू सच्चिएर वा सुध्रिएर पनि अब केही हुनेवाला छैन ।’
सार्वभौम जनताले निर्वाचनमार्फत व्यक्त गरेको अभिमतप्रति बस्नेतले सम्मान र स्वागत गर्ने बताएका छन् । परिवर्तन अवश्यमभावी भएको भन्दै आगामी दिनहरूले थप सकारात्मक परिवर्तनलाई आत्मसात् गर्दै मुलुकलाई समृद्धितर्फ लैजाने उनको अपेक्षा रहेको छ ।

