काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट हुम्लाबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेकी टासी लाजोमले आफ्नो उम्मेदवारीलाई हार नभई नयाँ राजनीतिक सुरुवातको रूपमा लिएकी छन्।
हुम्लाको दुर्गम क्षेत्र लिमिबाट पहिलो पटक प्रत्यक्ष चुनावमा महिला उम्मेदवार बन्ने अवसर पाएको बताउँदै उनले यो यात्रा निकै चुनौतीपूर्ण रहेको बताइन्। ७७ जिल्लामध्ये सबैभन्दा विकट मानिने हुम्ला जिल्लामा संगठन कमजोर हुँदाहुँदै पनि चुनावी मैदानमा उत्रनु आफ्नो लागि ठूलो अनुभव बनेको उनले उल्लेख गरिन्।
भौगोलिक कठिनाइ, सीमित स्रोतसाधन र पुरानो राजनीतिक संरचनाबीच पनि आफूले हार नमानेको बताउँदै लाजोमले चुनावी अभियानका क्रममा हुम्लाको राजनीति, यहाँको बेथिति र जनताको वास्तविक अवस्था नजिकबाट बुझ्ने अवसर पाएको बताइन्।
हुम्लाका सातवटै पालिकाबाट प्राप्त मतप्रति आभार व्यक्त गर्दै उनले विशेषगरी नाम्खा गाउँपालिकाका मतदाताले देखाएको विश्वासप्रति धन्यवाद दिइन्। यस निर्वाचनमा उनले १०६४ मत प्राप्त गरेकी छन्।
लाजोमले आफूले चुनाव जित्न नसके पनि हुम्लामा नयाँ आशा, नयाँ विकल्प र नयाँ राजनीतिक संस्कारको बीउ रोप्न सफल भएको दाबी गरिन्। ‘मेरो लागि यो हार होइन, यही नै मेरो पहिलो जित हो,’उनले भनिन्।
साथै उनले आफ्नो पार्टी अहिले सरकारमा पुगेको उल्लेख गर्दै अब सुशासन कायम गर्ने, भ्रष्टाचारका मुद्दा उठाउने र प्रणाली सुधारका लागि अझ सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
‘यहाँ जित्न नसके पनि लामो समयदेखि बलियो उपस्थिति हुन नसकेको पार्टीलाई हुम्लाका जनताको मनसम्म पुर्याउन सफल भएको महसुस गरेकी छु,’ उनले भनिन्।
उनले आफूलाई मत, साथ र सहयोग गर्ने हुम्लाका मतदाता तथा देशभरका समर्थकप्रति आभार व्यक्त गर्दै ‘जय हुम्ला, जय देश’ भन्दै आफ्नो भनाइ टुंग्याइन्।

