Harsamaya
जनादेश रास्वपाको पक्षमा गयो : शंकर पोखरेल
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल ।

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले आम निर्वाचन २०८२ को जनादेश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा गएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले जनताले “नयाँबाट केही हुन्छ कि” भन्ने विश्वासका साथ अभिमत दिएको उल्लेख गरेका छन्। उनले जनविश्वासअनुसार अघि बढ्न रास्वपाका प्रस्तावित प्रधानमन्त्री उम्मेदवार बालेन शाह सहित विजयी भएका सबै प्रतिनिधिलाई कार्य सफलताको शुभकामना दिएका छन्।

पोखरेलले आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा आफन्तजनले निकै मेहनत गरेको भए पनि ‘परिवर्तन’को लहरका कारण अपेक्षित परिणाम हासिल गर्न नसकिएको बताएका छन्। चुनावी अभियानमा जुट्ने सबैप्रति उनले आभार व्यक्त गरेका छन्।

त्यस्तै आफू उम्मेदवार रहेको प्रतिनिधिसभा–२ निर्वाचन क्षेत्रबाट रास्वपाका विपिन आचार्य निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना पनि उनले दिएका छन्।

लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक हुने उल्लेख गर्दै पोखरेलले निराश नहुन र सकारात्मक सोचका साथ आफ्नो कर्तव्यमा निरन्तर लागिरहन सबैमा आग्रह गरेका छन्।

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update