Harsamaya
कालीकोटमा विजयी नेकपाका शाहीको राजनीतिक यात्रा यस्तो ? 
महेन्द्रबहादुर शाही ।

कर्णाली -  कालीकोटमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन् ।  

प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार सम्पन्न निर्वाचनको परिणाम अनुसार शाहीले ११ हजार ३३८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नगेन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गर्नुभएको थियो । नेपाली कांग्रेसका हर्षबहादुर बमले सात हजार ९३३ मत प्राप्त गरेका थिए । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का खड्गबहादुर विश्वकर्माले चार हजार ५९९ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपानेले दुई हजार १३७ र नेपाल मजदुर किसान पार्टीका नन्दबहादुर शाहीले ५९७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ । 

यस्तो छ शाहीको राजनीतिक यात्रा 
विसं.२०३३ माघ १५ गते पचालझरना गाउँपालिका ९ (साबिकको नानीकोट गाविस. ८ कोटिला) कालिकोटमा जन्मिनुभएका शाही वडीमालिका माध्यामिक विद्यालय रास्कोटबाट एसएलसी उत्तीर्ण  गरेका छन् । २०४८ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका उहाँले नेकपा मसाल (एकता केन्द्र)बाट राजनीतिक यात्रा सुरु गरेका थिए । पार्टी सदस्यता लिएपछि उनी अर्धभूमिगत भएका थिए ।  

उनी २०५२ सालदेखि नेकपा (माओवादी) पार्टीको भूमिगत राजनीतिमा संलग्न भएका थिए । तत्कालीन जनयुद्धमा होमिएसँगै शाहीले पार्टीको संगठन र छापामारमा समानान्तर भूमिका निर्वाह गरे । जनयुद्धमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै  उनले शान्ति प्रक्रिया हुँदै सेना समायोजनसम्म  काम गरे  । 

माओवादी शान्तिप्रक्रियामा आएपछि उहाँ माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज र हाल नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय नेता हुन् ।

विसं.२०७२ मा संविधानसभाबाट नयाँ संविधान जारी भई मुलुक संघीयतामा गएपश्चात् २०७४ मंसिरमा सम्पन्न चुनावमा कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित शाहीले उक्त सालको फागुनदेखि २०७८ सम्म कर्णाली प्रदेशको प्रथम मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

उनी विसं २०७० मा संविधानसभा सदस्य, ०७९  मा प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update