काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ आफ्नो राजनीतिक आधार भूमि भएको बताएका छन् ।
निर्वाचनमा मौन अवधि सुरु हुनुभन्दा केही समय अघि एक सन्देश जारी गर्दै ओलीले आफ्नो जीवनसँग गहिरो सम्बन्ध रहेको उल्लेख गरेका छन् ।
‘विशेष गरी झापा ५ का दाजुभाइ तथा दिदी बहिनीहरू यो क्षेत्रसँग मेरो जीवनको गहिरो सम्बन्ध छ । यहाँका जनताले सधैँ साथ दिनुभएको छ’ अध्यक्ष ओलीले सन्देशमा भने ‘मैले पनि विकास, पूर्वाधार र अवसर विस्तारमा आफ्नो प्रतिबद्धता कायम राखेको छु । यो मेरो राजनीतिक आधार भूमि हो ।’
उनले यो सामान्य परिस्थितिको निर्वाचन नभएको,अन्तर्राष्ट्रिय जटिलता र राष्ट्रिय चुनौतीका बिचमा यो निर्वाचनको देशको भविष्य र दिशा तय गर्ने महत्त्वपूर्ण निर्णय भएको अध्यक्ष ओलीको भनाइ छ । संविधान निर्माण देखि नाकाबन्दी र महामारीसम्म हरेक सङ्कटमा देशलाई राजनीतिक स्थिरतामा राख्न प्रयास गरेको उल्लेख गरेका छन् ।
उनले भने, ‘राष्ट्रिय स्वाभिमान, नयाँ चुच्चे नक्सा र सन्तुलित कूटनीतिक सम्बन्धका विषयमा हामीले कुनै सम्झौता नगरी स्पष्ट अडान लिएका छौँ । आज विश्व अस्थिर छ, भू–राजनीति जटिल छ । यस्तो अवस्थामा हाम्रो देश भावनामा होइन, परिपक्व कूटनीति र अनुभवी नेतृत्वमा अघि बढ्नुपर्छ ।’
चुनाव प्रचारको छोटो समयमा आफू निर्वाचन क्षेत्रका दमक, कमल, गौरा दह र गौरीगञ्जका अधिकांश ठाउँमा पुगेको स्मरण गर्दै अध्यक्ष ओलीले आफू जहाँ पुगे पनि मतदाताको अपार माया पाएको बताए । निर्वाचन प्रचारका क्रममा आफूले जान नसकेका ठाउँ र भेट्न नसकेका मतदातासँग पनि निरन्तर सम्पर्क र समन्वय गरिरहने अध्यक्ष ओलीको प्रतिबद्धता छ ।

