Harsamaya
देश दुई प्रकारका ‘अतिवाद’को खतरासँग जुधिरहेको छ : प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

काठमाडौं - नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा भिडियो सन्देशमार्फत जारी सम्बोधनमा देश दुई प्रकारका ‘अतिवाद’को खतरासँग जुधिरहेको बताएका छन् ।

उनले सडक र सदन दुवैबाट खबरदारी गर्दा पनि ओली सरकार नसुध्रिएका कारण कुशासनको फल स्वरुप देश अराजकताउन्मुख बनेको बताएका हुन् ।

एकातर्फ जनताको आक्रोश र निराशालाई भड्काएर अराजकता साथै अनिश्चयतर्फ धकेल्ने प्रवृत्ति र अर्कोतर्फ दलाल–विचौलियाको स्वार्थमा अडिएको यथास्थितिवाद देशका लागि खतरा भएको उनको भनाइ छ ।

यी दुवै अतिवादसँग जुधेर देश जोगाउन सक्ने शक्ति वाम आन्दोलन मात्रै भएको उल्लेख गर्दै उनले वाम जनमतलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

अहिले वाम आन्दोलन समाप्त पार्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै उनले त्यसको प्रतिरोधका लागि क्रान्तिकारी कम्युनिस्ट तथा देशभक्त शक्तिहरूको पुनर्गठन आवश्यकता रहेको बताए ।

संयोजक प्रचण्डले हाल नेपाली कम्युनिस्ट पार्टीका रूपमा पुनर्गठनको प्रक्रिया अघि बढाइएको र पच्चीसभन्दा बढी कम्युनिस्ट तथा समाजवादी समूहहरू मिलेर नयाँ र देशभक्त शक्ति निर्माण भएको बताए । नेकपा विभाजनबाट एकता, आरोपबाट आत्मसमिक्षा र नाराभन्दा नतिजामुखी राजनीतितर्फ फर्किएको उनले बताए ।

प्रचण्डले नेपाली कम्युनिष्ट पार्टी बाम आन्दोलनको केन्द्र भएको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) समेत अन्ततः वाम आन्दोलनको केन्द्र नेकपामै मिसिनुपर्ने बताए ।

आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध कठोर कदम चालेको, प्रशासनिक सुधार गरेको, संविधानको रक्षा तथा संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउन पहल गरेको उनले उल्लेख गरे । आफु र आफ्नो पार्टी लोकतन्त्र कमजोर पार्ने वा व्यवस्था उल्ट्याउने प्रयासविरुद्ध सधैं उभिएको उल्लेख गर्दै उनले समावेशिता, महिला नेतृत्व, दलित तथा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आफूहरूले महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले महिला, दलित, आदिवासी जनजाति, थारु, मधेसी, मुस्लिम, कर्णाली र सुदूरपश्चिमलगायत उत्पीडित समुदायलाई अधिकारको रक्षा र व्यवहारिक कार्यान्वयनका लागि मतदान गर्न अपील गरे । भ्रष्टाचार अन्त्य, माफिया र बिचौलियाको जालो तोड्ने तथा कानुनभन्दा माथि कोही नहुने व्यवस्था स्थापित गर्ने आफ्नो एजेण्डा रहेको उनले उल्लेख गरे ।

‘हिजो क्रान्तिको इतिहास लेख्ने हातहरू आज समृद्धिको अध्याय लेख्न तयार छन्,’ प्रचण्डले भने । परिवर्तनको निरन्तरता, सामाजिक न्याय र समृद्धिका लागि आफ्नो नेतृत्वलाई समर्थन गर्न आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले फागुन २१ गते हुने आम निर्वाचनको पूर्वसन्ध्यामा मतदातासँग स्थायित्व, सुशासन र समृद्धिका लागि आफ्नो दलको चुनाव चिन्ह ‘तारा’मा मतदान गर्न अपील गरे ।

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update