Harsamaya
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै,  कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं -  हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको  छ ।  जसको प्रभावले  कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा साधरणतया बादल तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो रहको छ।

आज  तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। देशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। 

कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा  बाँकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका समेत एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

 

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update