काठमाडौं - बालेन शाहले देश सञ्चालनको शैलीलाई उत्पादनशील र व्यवस्थित बनाउनुपर्ने बताउँदै नेपाललाई ‘फ्याक्ट्री जस्तै चल्ने प्रणाली’आवश्यक भएको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका शाहले नेपाली कांग्रेसको उदाहरण दिँदै व्यवस्थापन र परिणाममुखी कामको आवश्यकता औँल्याएका हुन्।
चितवनमा शुक्रबार आयोजित परिवर्तन उद्घोष सभामा बोल्दै उनले भने, ‘नेपाल नेपाली कांग्रेसको वाइवाइ फ्याक्ट्री जस्तै चल्नुपर्छ।’ उनका अनुसार मुलुकलाई परिणाम दिने व्यवस्थापन प्रणाली आवश्यक छ।
शाहले चुनावी प्रचार–प्रसारका क्रममा देशभर घुम्दा अधिकांश स्थानमा समस्या उस्तै रहेको अनुभव सुनाए। उनले निर्वाचनपछि बन्ने सरकारले ती साझा समस्याहरू समाधान गर्नुपर्ने बताए।
उनले नेपालसँग स्रोत र सम्भावना भए पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको उल्लेख गरे। देशको अवस्थालाई उनले हेटौँडा सिमेन्ट उद्योगसँग तुलना गर्दै सबै साधन भए पनि सञ्चालनमा कमजोरी देखिएको टिप्पणी गरे।
‘हाम्रो देश हेटौँडा सिमेन्ट कारखानाजस्तै भएको छ—सबै सामान छन्, तर चल्दैन। हामीलाई चलाउने जिम्मा दिनुस्, हामी चलाउँछौँ,’ उनले भने।

