रुपन्देही - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका सचिवसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।यातायात व्यवस्था कार्यालय, नेपालगन्ज बाँकेमा कार्यरत रहँदा अनियमितता गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख लोकबहादुर सुनारसहित उच्च पदस्थ कर्मचारी र बिचौलियाविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
हाल लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेका उनीमाथि आयोगले गलत लिखत तथा प्रतिवेदन तयार पार्ने, सरकारी कागजात सच्याउने, घुस–रिसवत लिने–दिने र परीक्षाको परिणाम फेरबदल गर्नेजस्ता गम्भीर आरोप लगाएको छ ।
आयोगका अनुसार लोकबहादुर सुनार यातायात व्यवस्था कार्यालय, नेपालगन्जका तत्कालीन कार्यालय प्रमुख (उपसचिव) रहँदा व्यापक अनियमितता भएको निष्कर्षसहित मुद्दा दायर गरिएको हो । पहिलो आरोप पत्रमा तत्कालीन कार्यालय प्रमुख सुनार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, लुम्बिनी प्रदेशका तत्कालीन सचिव (सहसचिव) उमेश ढुङ्गानासहित ३३ जनाविरुद्ध गलत लिखत एवं गलत प्रतिवेदन तयार गरी सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
आरोप पत्रमा सुनारसहित ३३ जनाविरुद्ध घुस रिसवत लिई–दिई भ्रष्टाचार गरेको अभियोग दायर गरिएको छ । यस्तै आयोगले कार्यालयभित्रै बिचौलिया समूह सक्रिय रही सेवाग्राहीसँग रकम असुली गरिएको, ट्रायल पास गराइदिने, फेललाई पास गरिदिने, छिटो लाइसेन्स उपलब्ध गराइदिने जस्ता प्रलोभनमा रकम लेनदेन भएको दाबी गरेको छ ।
अनुसन्धानका क्रममा बैङ्किङ कारोबार, मोबाइल सम्पर्क, सेवाग्राहीको बयान तथा बरामद कागजातका आधारमा रकम लेनदेन पुष्टि भएको आयोगको दाबी छ । आरोप पत्रमा कर्मचारी र बिचौलियाबिच मिलेमतो रहेको र कार्यालय संरचनालाई नै दुरुपयोग गरिएको उल्लेख गरिएको छ ।
यसै गरी आरोप पत्रमा सुनारसहित ११ जनाविरुद्ध सरकारी कागजात सच्याई परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोप छ । ट्रायल परीक्षामा अनुत्तीर्ण भएका सेवाग्राहीलाई प्रणालीमा प्रवेश गरी नतिजा सच्याएर उत्तीर्ण देखाइएको, अभिलेखमा हेरफेर गरिएको र त्यसबापत रकम लिएको आयोगको ठहर छ । सूचना प्रविधि प्रणालीमा पहुँच भएका कर्मचारीमार्फत नतिजा परिवर्तन गरिएको र त्यसलाई ढाकछोप गर्न कागजी अभिलेखसमेत सच्याइएको अनुसन्धानबाट खुलेको जनाइएको छ ।

