Harsamaya
लुम्बिनीमा एमालेको बहुमत सुनिश्चित : पौडेलको दाबी
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल ।

बुटवल - नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रदेशमा नेकपा एमाले नै बहुमत सहितको पहिलो शक्ति बन्ने दाबी गरेका छन्। फागुन २१ गतेको निर्वाचन पछि एमाले राष्ट्रिय राजनीतिको मियो बन्ने र मुलुक सञ्चालनको ड्राइभिङ सिटमा बस्ने विश्वासका साथ चुनावी अभियानमा होमिएको पौडेलले बताएका हुन् ।

रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार पौडेलले बिहीबार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै एमालेले विगतमा र वर्तमानमा जन पक्षीय काम गरेको दाबी गर्दै भोली पनि जनताको पक्षमा काम गर्ने विश्वास सहित जनताले मत दिने बताए ।

पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले रुपन्देही क्षेत्र नं. २ का मतदाताहरू एमालेलाई नै जिताउनुपर्छ भन्ने माइन्ड सेट गरेर बसेको उल्लेख गर्दै जतिसुकै षडयन्त्र गरे पनि जनताको माइन्ड सेट परिवर्तन गर्न कठिन हुने बताए । ‘रुपन्देही क्षेत्र नं. २ मा विभिन्न प्रकारका प्रक्षेपण गरिएका छन्। ती प्रक्षेपणहरू अहिले फेल खाने छन्, यहाँका मतदाताले एमालेलाई नै जिताउनु पर्ने छ भन्ने माइन्ड सेट गरेर बसेका छन् जनताको त्यो माइन्ड सेटलाई परिवर्तन गर्न निकै कठिन छ,’ पौडेलले भने।

पौडेलले रुपन्देही क्षेत्र नं. २ मात्र होइन पाँच वटै क्षेत्रमा एमाले पहिलो बन्ने दाबी गरे । ‘विगतमा अरू क्षेत्रको तुलनामा क्षेत्र नं. ४ केही कमजोर देखिन्थ्यो तर, अहिले त्यो क्षेत्र पनि निकै सुधारिएकोले एमाले रुपन्देहीको सर्वाधिक बलियो र ठुलो शक्तिको रूपमा पुन: उदय हुँदै छ,’ उनले भने। उनले रुपन्देहीमा सञ्चालित पूर्वाधार आयोजनाहरू सम्पन्न गर्न र सम्पन्न भएका आयोजनाहरूको प्रभावकारी व्यवस्थापन सहित सञ्चालनका लागि पनि एमालेको जित अपरिहार्य हुने बताए ।

‘एमालेले केबल चुनाव जित्नका लागि मात्र जित्न चाहेको छैन, रुपन्देहीलाई र सिङ्गो लुम्बिनी प्रदेशलाई नै नमुना बनाउनको लागि जित्न चाहेको छ, अहिले निर्माणाधीन बुटवल नारायणगढ र बुटवल गोरुसिङ्गे सडक आयोजनासँगै सिद्ध बाबा सुरुङ मार्ग, सिद्धार्थ राजमार्गको स्तरोन्नति, कालीगण्डकी तिनाउ डाइभर्सन आयोजनाहरूको निर्माण हाम्रा सपना हुन्,’ पौडेलले भने ।

पौडेलले सिद्धार्थ राजमार्गको स्तरोन्नतिपछि लुम्बिनी र गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रहरू एक आपसमा जोडिने र त्यसैको माध्यमबाट पर्यटकहरूलाई आकर्षित गर्न सकिने बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update