मुस्ताङ - कड्कडाउँदो चिसोका बाबजुद हिमाली जिल्ला मुस्ताङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढ्दै गएको छ। यही फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिँदै जाँदा यहाँ राजनीतिक दल र उम्मेदवारहरूको प्रचार–प्रसार अभियान उत्कर्षमा पुगेको छ।
निर्वाचनको माहोल सुरु हुँदा, अघिल्लो महिनामा माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुगेको थियो। अहिले चुनावी गतिविधि तीव्र बनेसँगै तापक्रम केही घटबढ भए पनि अझै कडा चिसो कायम छ। हाल माथिल्लो मुस्ताङमा तापक्रम माइनस १० डिग्री आसपास छ भने तल्लो मुस्ताङमा माइनस ३ डिग्री मापन गरिएको छ।
चिसो र प्रतिकूल मौसमका बाबजुद पनि प्रचार–प्रसार अभियान रोकिन सकेको छैन। तल्लो मुस्ताङको घाँसादेखि नेपाल–चीन सिमानामा रहेको कोरला नाकासम्म चुनावी गतिविधि सक्रिय देखिन्छ। गाउँ–गाउँमा उम्मेदवारहरूको भेटघाट, घरदैलो तथा चुनावी सभाहरू भइरहेका छन्।
जिल्लामा उम्मेदवारी दर्ता गराएका आठ राजनीतिक दलमध्ये अधिकांश दलले प्रचार अभियानलाई तीव्र बनाएका छन्। नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र उज्यालो नेपाल पार्टीका उम्मेदवारहरू सक्रिय रूपमा मतदाता भेटघाटमा छन्। यसैगरी मङ्गोल नेपाल अर्गनाइजेसन र आम जनता पार्टीले पनि आफ्नो प्रचार–प्रसार जारी राखेका छन्।
यद्यपि, कठोर जाडोका कारण केही मतदाता जाडो छल्न बेँसी झरेका छन् र अझैसम्म सबै मतदाता जिल्ला फर्किएका छैनन्। कतिपय मतदाता भने बिस्तारै हिमालतर्फ फर्किन थालेका छन्। मतदातालाई मतदानका लागि जिल्ला फर्काउन उम्मेदवार र राजनीतिक दलहरूले विभिन्न पहल गरिरहेका छन्।

