Harsamaya
धादिङ दुर्घटनाका घाइतेको उद्धारमा मध्यरातमै खटिने थपलिया सम्मानित
अरुण थपलियालाई सम्मान गर्दै प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्ट ।

काठमाडौं - धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा केही दिनअघि भएको बस दुर्घटनाका घाइतेहरूको उद्धारमा सहयोग पुर्‍याउने स्थानीय अरुण थपलियालाई सम्मान गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सिंहदरबारमा एक समारोहकाबीच उनलाई सम्मान गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्टले उनलाई सम्मान प्रदान गर्दै स्वतःस्फूर्त रूपमा स्वयंसेवा गरेकामा थपलियालाई धन्यवाद दिए । 

उनले जुनसुकै विपद्का घटनामा स्थानीय नै सबैभन्दा पहिले पुग्ने हुनाले प्राधिकरणले तालिम दिएरै स्थानीय स्वयंसेवक उत्पादनको कामलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी पनि दिए । थपलियाले आफूले सूचना पाउनासाथ कसरी उद्धारमा खटिए र रातको समय तथा ठाडो भिरका कारण उद्धारको काममा झेल्नुपरेको कठीनाइका बारेमा आफ्नो अनुभव सुनाए । 

बेनिघाट रोराङ गाउँपालिका–५ चरौँदीका स्थानीय र्‍याफ्टिङ व्यवसायी थपलियाले व्यक्तिगत र्‍याफ्टको प्रयोग गरी २४ जना घाइतेको उद्धारको काममा सुरक्षाकर्मीलाई सहयोग गरेका थिए ।  यही फागुन ११ गते साँझ पोखराबाट काठमाडौँ आइरहेको यात्रुबाहक बस बिहान करिब १:३० बजे धादिङको भैँसीगौडामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update