Harsamaya
धादिङ बस दुर्घटना : थप एक जनाको मृत्यु, २२ घाइतेको काठमाडौंमा उपचार हुँदै
धादिङ दुर्घटना ।

काठमाडौं - धादिङमा भएको बस दुर्घटनामा घाइतेमध्ये थप एक जनाको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको संख्या १९ पुगेको छ। दुर्घटनामा घाइते भएका २२ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेपछि घाइतेहरूलाई उपचारका लागि राजधानी ल्याइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार उपचारका लागि ल्याइएका २३ जनामध्ये एक घाइतेको मृत्यु भएको छ, तर उनको पहिचान खुल्न बाँकी रहेको छ।

घाइतेमध्ये १२ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १० जनाको नेशनल अस्पताल कलंकीमा उपचार भइरहेको छ।

नेशनल अस्पताल कलंकीमा ९ पुरुष र १ महिला उपचाररत छन् भने ट्रमा सेन्टरमा ७ पुरुष र ५ महिलाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

नेशनल सिटी अस्पतालमा उपचार भइरहेकामध्ये सितापाइला बस्ने ३३ वर्षीय राजेश कुँवर, तनहुँ भक्ते बस्ने १८ वर्षीय सुविन मल्ल, कास्की लेखनाथकी ३५ वर्षीया प्रतिभा पौडेल, कास्की देवीनगरका २३ वर्षीय चन्द्रआशिष फुँयाल, काठमाडौं लोलाङ बस्ने १९ वर्षीय संगम मल्ल, कास्की चिसुवा घर भएकी ३९ वर्षीया प्रमिला भट्टराई, स्याङ्जा फेदिखोला–४ का ६४ वर्षीय डम्मरबहादुर विक, काठमाडौं कलंकीका २५ वर्षीय कृष्ण तिवारी, कास्की घर भएका २० वर्षीय सुनम गुरुङ र धादिङ धुनिबेशीका ३६ वर्षीय राजेन्द्र बिसुन्के रहेका छन्।

यस्तै ट्रमा सेन्टरमा उपचार भइरहेकामा चिनियाँ नागरिक २२ वर्षीया मिसि हाउ, काठमाडौं बौद्धकी ४८ वर्षीया एन्जी शेर्पा, तनहुँका ४५ वर्षीय सोमप्रसाद मल्ल, झापाका ३० वर्षीय विपिन मानन्धर, काठमाडौं गोकर्णकी २८ वर्षीया पूजा फुयाल, स्याङ्जा फेदिखोलाका २६ वर्षीय सचिन्द्र सुनार र कास्की लेखनाथका प्रदीप लामिछाने छन्।

त्यसैगरी ट्रमा सेन्टरमै काठमाडौं बौद्धका नोर्बु पाल्देन, कपनकी स्वर्णीमा खत्री, कास्कीकी १९ वर्षीया सलिना परियार, तनहुँका ४४ वर्षीय मानबहादुर थापा र काठमाडौं बौद्धकी ४८ वर्षीया लङ्साङ्गोली लामाको पनि उपचार भइरहेको छ।

यस दुर्घटनामा यसअघि १८ जनाको मृत्यु भएको थियो भने २६ जना घाइते भएका थिए। अहिले थप एक जनाको मृत्यु भएपछि मृतक संख्या १९ पुगेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update