बुडापेस्ट - हङ्गेरीले युरोपेली संघ (इयू) ले रूसविरुद्ध प्रस्ताव गरेको पछिल्लो प्रतिबन्धको प्याकेज रोक्ने चेतावनी दिएको छ।
हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले आइतबार सामाजिक सञ्जाल एक्समार्फत युक्रेनले हङ्गेरीतर्फ पेट्रोलियम आपूर्ति गर्ने प्रमुख पाइपलाइन पुनः सञ्चालन नगरेसम्म इयूको नयाँ प्रतिबन्धलाई समर्थन नगर्ने बताए ।
त्यस्तै, हङ्गेरीका विदेश मन्त्री पिटर सिजार्टो ले पनि युक्रेनले ड्रुज्बा पाइपलाइन मार्फत हङ्गेरी र स्लोभाकिया मा तेल ट्रान्जिट पुनः सुरु नगरेसम्म किएभसँग सम्बन्धित महत्त्वपूर्ण निर्णय अघि बढ्न नदिने चेतावनी दिएका छन् ।
युक्रेनका अनुसार स्लोभाकिया र हङ्गेरीमा रुसी तेल पुर्याउने उक्त ड्रुज्बा पाइपलाइन जनवरी २७ मा भएको रुसी आक्रमणका कारण क्षतिग्रस्त भएको थियो।
इयूले फेब्रुअरीको सुरुमा रूसविरुद्ध बैंकिङ र ऊर्जा क्षेत्रलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध प्रस्ताव गरेको हो। सन् २०२२ फेब्रुअरी २४ मा रूस ले युक्रेन मा आक्रमण गरेपछि यो इयूको प्रस्तावित २०औँ प्रतिबन्ध प्याकेज हो।
नयाँ प्रतिबन्ध लागू हुनुअघि इयूका सबै २७ सदस्य राष्ट्रको स्वीकृति आवश्यक हुने भएकाले हङ्गेरीको चेतावनीलाई महत्त्वपूर्ण मानिएको छ।

