सुनसरी - आगामी निर्वाचनलाई लक्षित गर्दै बढ्दो राजनीतिक सक्रियताबीच सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा दुई प्रमुख दलका कार्यकर्ताबीच झडप भएको छ। चुनावी कार्यक्रमकै सिलसिलामा उत्पन्न विवादले शनिबार झडपको रूप लिएको हो।
नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की सम्बोधनका लागि कार्यक्रमस्थलतर्फ जाने क्रममा उपस्थित कार्यकर्ताबीच भनाभन सुरु भएको थियो । सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकसमेत संलग्न भएपछि अवस्था तनावपूर्ण बनेको स्थानीय स्रोतले जनाएका छन्।
विवाद चर्किँदै जाँदा हात हालाहालको स्थिति सिर्जना भएपछि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरी भीड नियन्त्रणमा लिएको थियो। घटनापछि क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।
घटनाले निर्वाचन नजिकिँदै जाँदा राजनीतिक प्रतिस्पर्धा कडा बन्दै गएको संकेत गरेको छ। अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ भने सम्भावित तनावलाई ध्यानमा राख्दै सुरक्षा निगरानी बढाइएको छ।

