Harsamaya
काठमाडौं ८ मा विराजभक्त श्रेष्ठको चुनावी घरदैलो : सुशासनका लागि जनाए प्रतिबद्धता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा काठमाडौं क्षेत्र नम्बर ८ का प्रतिनिधिसभा उम्मेदवार विराजभक्त श्रेष्ठ ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा काठमाडौं क्षेत्र नम्बर ८ का प्रतिनिधिसभा उम्मेदवार विराजभक्त श्रेष्ठले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् । शनिबार उनले काठमाडौंका १९ वटा वडामा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन् ।

घरदैलो कार्यक्रमका क्रममा श्रेष्ठले नागरिकमा देखिएको आशा र सद्भावले आफूलाई उत्साहित बनाएको बताए । ‘घरदैलोमा हिडिरहँदा नागरिकमा एक प्रकारको आशा र सद्भाव देखिएको छ । देशमा सुसंस्कृत राजनीति स्थापित हुनैपर्छ । कुशासनका कारण जनतामा निराशा र आक्रोश बढेको छ, यसलाई हामीले सम्बोधन गर्नुपर्छ,’ उनले भने ।

राष्ट्रिय मुद्दा र उद्देश्यबारे सार्थक बहस आवश्यक रहेको उल्लेख गर्दै उनले सुशासन स्थापना गर्न सबैको सहकार्य अपरिहार्य रहेको धारणा राखे । मतदातासँगको संवादमा उनले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव संकलन गरिरहेका छन् ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले देशभर प्रचार–प्रसारलाई तीव्र बनाइरहेका छन् । रास्वपासहित विभिन्न दलका उम्मेदवारहरूले यही महिनाको ४ गतेदेखि घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।

प्रकाशित मिति: शनिबार, फागुन ९, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update