मेलम्ची - पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य विष्णु बिक्रम थापाले कुशासन र भ्रष्टाचारको बेथितिले नै जेनजी आन्दोलन जन्मिएको बताएका छन्।
नेपाली कांग्रेस मेलम्ची नगरपालिकाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै थापाले देशको अखण्डता जोगाउन कांग्रेसलाई जिताउनुपर्ने धारणा राखे। ‘नेपाल नरहे हामी पनि रहँदैनौँ, अहिलेको चुनाव नेपाल रहने कि नरहने भन्ने प्रश्नमा केन्द्रित छ,’ उनले भने।
उनले कोरोना महामारी र बाढी–पहिरोको विपद्का बेला कांग्रेस अग्रपंक्तिमा उभिएको दाबी गरे। ‘जो काम गर्छ, जुन पार्टीले काम गर्छ, उसैलाई मूल्याङ्कन गर्नुस्,’ भन्दै उनले मतदातालाई कामका आधारमा निर्णय लिन आग्रह गरे।
विगतका प्रतिकूल परिस्थितिमा पनि कांग्रेसले देश सम्हालेको उल्लेख गर्दै थापाले स्थायित्व र सुशासनका लागि कांग्रेस को उम्मेदवार लाई जिताउन अपरिहार्य रहेको बताए।

