सिन्धुपाल्चोक - नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिव सुनारले वर्तमान राजनीतिक परिस्थितिमा काँग्रेस रूपान्तरणको मार्गमा अघि बढेको र देश परिवर्तनको अभियानमा सक्रिय रहेको बताएका छन्।
नेपाल तरुण दल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले राजधानीमा आयोजना गरेको निर्वाचन लक्षित युवा भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस लोकतान्त्रिक मूल्य–मान्यता, अनुशासन र समावेशितामा आधारित सशक्त राजनीतिक शक्ति भएको उल्लेख गरे। उनले विगतका केही गतिविधिका कारण देशको लोकतन्त्र, सङ्घीयता र सार्वभौमसत्तामाथि चुनौती सिर्जना भएको अनुभूति गरिएको बताए ।
सामाजिक सञ्जालमार्फत लोकप्रियतावाद फैलाउँदै भ्रम छर्ने प्रवृत्ति बढ्दो रहेको उल्लेख गर्दै उनले यथास्थितिवाद र अतिवादबिच काँग्रेसले जिम्मेवार शक्ति भएर उभिनुपर्ने धारणा राखे। उनले भने, ‘देशको स्थायित्व र प्रणालीको रक्षा गर्न सशक्त र जिम्मेवार राजनीतिक नेतृत्व आवश्यक छ।’
सुनारले युवाहरूलाई उत्साह, ऊर्जा र सचेतताका साथ राजनीतिक अभियानमा सक्रिय हुन आग्रह गरे। देशमा भएका ऐतिहासिक परिवर्तनहरूमा युवाको महत्वपूर्ण भूमिका रहेको स्मरण गराउँदै उनले लोकतन्त्र सुदृढीकरणका लागि पुनः युवालाई अग्रसर हुन आह्वान गरे।

