Harsamaya
पूर्वमन्त्री विष्णुविक्रम थापाको दाबी - कांग्रेसको घरदैलो अभियान सफल 
पूर्वमन्त्री विष्णुविक्रम थापा ।

सिन्धुपाल्चोक - २०८२ फाल्गुन २१ गते हुने संघीय संसद निर्वाचनलाई लक्षित गर्दै नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकले सञ्चालन गरेको पहिलो चरणको घरदैलो अभियान सफलतापूर्वक सम्पन्न भएको पूर्वमन्त्री विष्णुविक्रम थापाले दाबी गरेका छन्।

काँग्रेसले प्रतिनिधि सभा क्षेत्र नं. १ मा जिल्ला सभापति जंग बहादुर लामा र क्षेत्र नं. २ मा वंशलाल तामाङलाई उम्मेदवार बनाइएको छ। काँग्रेसले निर्वाचन केन्द्रित कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानीय तहमा मतदाताको घरदैलोमा पुगेर पार्टीका एजेन्डा र प्रतिबद्धता प्रस्तुत गरिएको दाबी गरिएको छ।

घरदैलो अभियानका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया र समर्थन प्राप्त भएको कांग्रेस नेताहरूको भनाइ छ। अभियानमा पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सक्रिय सहभागिता रहेको थियो।

पूर्वमन्त्री थापाले पहिलो चरणको कार्यक्रम भव्य रूपमा सम्पन्न भएको उल्लेख गर्दै अब दोस्रो चरणको प्रचारप्रसार अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाइने बताएका छन्। उनले सबै स्थानीय तहमा आ–आफ्नो जिम्मेवारीअनुसार सक्रिय भएर निर्वाचन अभियानमा खटिन नेता तथा कार्यकर्तालाई आह्वानसमेत गरेका छन्।

कांग्रेसले आगामी दिनमा आमसभा, कोणसभा तथा भेटघाट कार्यक्रमलाई थप तीव्रता दिने जनाएको छ।

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update