बागलुङ - नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थितिमा निर्वाचनको विकल्प नरहेको बताएका छन्।
जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यसको समाधान निर्वाचनबाट मात्रै सम्भव हुने धारणा राखे। ‘यो हामीले चाहेर आएको निर्वाचन होइन, असाधारण परिस्थितिका कारण आएको हो,’ उनले भने, ‘इमानदार कम्युनिष्ट र देशभक्तका लागि जनतामा जाने बलियो माध्यम निर्वाचन नै हो।’
केही दलहरूले संसद् पुनःस्थापना र सर्वदलीय सरकार गठनको एजेन्डा अघि सारे पनि नेकपाले त्यसतर्फ ध्यान नदिएको उनको भनाइ छ।
दाहालले वामपन्थी र देशभक्त शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्यले नेकपा गठन गरिएको उल्लेख गर्दै हालको असहज परिस्थितिबाट देश र उपलब्धिहरूको रक्षा गर्न पार्टी प्रतिबद्ध रहेको बताए।
जेनजी आन्दोलनबारे टिप्पणी गर्दै उनले युवाहरू भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा सडकमा उत्रिएको भए पनि त्यसमा स्वार्थ समूहहरूको घुसपैठ भएको दाबी गरे। उनले परिवर्तनका लागि वाम शक्तिहरू एक हुनुपर्ने आवश्यकता औँल्याए।

