Harsamaya
रामेछाप बस दुर्घटना अपडेट : १० मृतकको सनाखत
रामेछाप सदरमुकाम मन्थली नजिक भएको बस दुर्घटना ।

रामेछाप - रामेछाप सदरमुकाम मन्थली नजिक भएको बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत भएको छ।

मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीका अनुसार मृत्यु हुनेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ रहेका छन्। साथै लिखु तामाकोशी–४ की २२ वर्षीया बबी तामाङ र २६ वर्षीय दीपेन्द्र बस्नेत, लिखु तामाकोशी–६ का दीपेश बस्नेत र सोही वडाकी ४५ वर्षीया मानकुमारी बरुवाल, सिन्धुली गोलन्जोर गाउँपालिका–६ का ३४ वर्षीय शिव श्रेष्ठ तथा दोलखा भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङको पनि मृत्यु भएको छ। दुई जनाको सनाखत हुन बाँकी रहेको जनाइएको छ।

रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार दुर्घटनामा बस चालकसहित आठ जना घाइते भएका छन्। घाइतेको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने बाँकी यात्रुको खोजतलास जारी छ।

काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस मन्थली नगरपालिका–६ मसानटारमा सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खसेको थियो।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update