सिरहा -सिरहा सदरमुकामस्थित कारागारभित्र एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जनालाई नियन्त्रणमा लिइएको छ।
जिल्ला सुरक्षा समितिको विशेष अनुगमनका क्रममा कारागारभित्र ‘नाइके’ भनिने इन्द्रजित यादवको साथबाट उक्त हतियार फेला परेको हो। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट गरी कारागारबाट बाहिर निकाल्ने प्रयास गरेका थिए।
पक्राउ परेका १३ जनालाई कारागारबाट झिकेर प्रहरीले हिरासतमा राखेको छ। प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘हामीले उनीहरूलाई कारागारबाट झिकेर हिरासतमा राखेका छौँ र अन्यत्र पठाउने तयारी भइरहेको छ।’
नाइके यादव पक्राउ परेपछि कारागारभित्र समर्थकहरूले नाराबाजी, आगजनी र तोडफोडसमेत गरेका थिए। प्रशासनले सुरक्षा व्यवस्थामा थप सतर्कता अपनाएको जनाएको छ।
कारागारको क्षमता १५० जना भएपनि हाल ४३७ जना कैदीबन्दी रहेका छन्। अति भिडभाडका कारण गत साउनमा पनि कैदीबन्दीबीच झडप हुँदा १३ जना घाइते भएका थिए।

