Harsamaya
कांग्रेस उपसभापति शर्माले भने: ‘कसैलाई गाली नगरी एकढिक्का भएर चुनावमा लागौँ’
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ।

चितवन - नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेता–कार्यकर्तालाई कुनै पनि व्यक्तिलाई गाली नगरी, सभ्य र एकढिक्का भएर आगामी निर्वाचनमा लाग्न आग्रह गरेका छन्।

उपसभापति शर्माले भने, ‘हामीले कसैलाई गाली नगरौँ । आफ्ना कुरा जनतालाई बुझाऔँ, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौं । हाम्रो इतिहास र सभ्यताको ख्याल गर्दै चुनावमा लागौँ ।’ 

उनले पार्टीले फागुन २१ लक्षित गर्दै सञ्चालन गर्न लागेको २१ दिने घरघर अभियानमा आफ्नै वडामा सक्रिय रहन र पार्टीको नीति–उद्देश्य घरघर पुर्‍याउन नेताहरूलाई निर्देशन दिए । 

कार्यक्रममा केन्द्रीय सदस्य जीतनारायण श्रेष्ठले पार्टीले ७५ प्रतिशत युवा र नयाँ उम्मेदवार लिएर चुनाव लडेको उल्लेख गर्दै सबै नेता–कार्यकर्तालाई जिताउन सक्रिय हुन आग्रह गरे।

साथै, चितवनका उम्मेदवार राजेन्द्र बुर्लाकोटी, मीनाकुमारी खरेल र टेकप्रसाद गुरुङले कांग्रेस विजयी बनाउन सबै नेता–कार्यकर्ताले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update