काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल गर्न निर्देशन दिएको छ।
प्राधिकरणले कर्मचारी सेवा, शर्त तथा नियमावली–२०७५ मा व्यवस्था गरिएको आचरणसम्बन्धी प्रावधानको पालना गर्नु सबै कर्मचारीको दायित्व भएको स्मरण गराएको छ।
पछिल्लो समय सामाजिक सञ्जालमा तथ्य प्रमाणित नभएका, काल्पनिक तथा प्राधिकरणको प्रतिष्ठामा आँच पुर्याउने खालका सामग्री, प्रतिक्रिया तथा कार्यालयका आन्तरिक पत्रहरू सार्वजनिक गर्ने प्रवृत्ति बढेको भन्दै प्राधिकरणले आपत्ति जनाएको छ।
प्राधिकरणका सहनिर्देशक नारायणप्रसाद आचार्यका अनुसार यस्ता गतिविधि निरुत्साहित गर्दै सामाजिक सञ्जालको प्रयोग मर्यादित, व्यवस्थित र रचनात्मक बनाउन सबै कर्मचारीको सकारात्मक भूमिका आवश्यक छ।
नियमावलीमा व्यवस्था भए विपरीत कार्यालयका पत्र तथा अन्य अनावश्यक सामग्री सामाजिक सञ्जालमा पोस्ट नगर्न प्राधिकरणले सूचित गरेको छ।
सूचनामा नियम उल्लंघन गरी अनावश्यक पोस्ट वा प्रतिक्रिया दिने कर्मचारीको विवरण सङ्कलन गरी प्रचलित विनियमअनुसार विभागीय कारबाही गरिने स्पष्ट पारिएको छ।

