Harsamaya
सिभिल इन्जिनियरिङ पढ्ने ५ विद्यार्थीलाई विनोद नेपाल स्मृति फाउण्डेशनको छात्रवृत्ति
विनोद नेपाल स्मृति फाउण्डेशनले छात्रवृत्ति प्रदान गर्दै ।

​मेलम्ची - विनोद नेपाल स्मृति फाउण्डेशनले सिन्धुपाल्चोकको मेलम्चीस्थित श्री इन्द्रेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत ५ जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। सिभिल इन्जिनियरिङ संकायमा अध्ययनरत विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक निरन्तरतामा सहयोग पुर्‍याउने उद्देश्यले फाउण्डेशनले छात्रवृत्ति प्रदान गरेको हो।

​यस वर्ष छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा कक्षा १० मा अध्ययनरत अनुसा पुरी,प्रतिभा चालिस,हिमानी चालिसे,सन्दिप गिरी र मानवी पुरी छनोट भएका छन् । कार्यक्रममा विद्यार्थीहरू हिमानि चालिसे र मानवि गिरीले फाउन्डेसनको सहयोगले आफ्नो पढाईमा थप सहजता भएकोले फाउन्डेसनप्रति आभारी रहेको बताएका छन् । 

ईन्द्रेश्वरी माविका प्रधानाध्यापक देवी श्रेष्ठले फाउन्डेसनको सहयोगले यसअधि पनि ईन्जिनियरहरू उत्पादन गरि लोकसेवा पास गर्न सफल भएकाले विद्यार्थीहरूले यसलाई गहन रूपमा लिनुपर्ने बताए । साथै आगामी दिनमा पनि यो  सहयोगले धेरै ईन्जिनियर उत्पादनमा सहयोग पुग्ने भएकाले फाउन्डेसनप्रति आभारी रहेको बताए । 

कार्यक्रमको समापन गर्दै फाउन्डेसनका अध्यक्ष गंगादत्त नेपालले विनोद नेपाल जस्तै धेरै इन्जिनियर उत्पादन गर्न आफूले यो अभियानको सुरु गरेको बताए । यस अभियानबाट यसअघि थुप्रै विद्यार्थीहरू सफल इन्जिनियरको रुपमा स्थापित भइसकेको र आगामी दिनमा पनि अन्य विद्यार्थीहरूका लागि सुनौलो भविष्य निर्माणमा साथमा साथ मिलाएको बताएका छन् । 

​फाउण्डेशनले विगत ५ वर्षदेखि विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न यस प्रकारको सहयोग गर्दै आएको छ। संस्थाका संस्थापक अध्यक्ष डा. गंगादत्त नेपालका अनुसार, विद्यालयको सिफारिस र अन्तर्वार्ताका आधारमा छात्रवृत्तिका लागि योग्य विद्यार्थीहरू छानिएको हो। यदि विद्यार्थीको शैक्षिक गुणस्तर खस्किँदै गएमा सो छात्रवृत्ति लाई निरन्तरता नदिने पनि उनले जानकारी दिए । 

​यो छात्रवृत्तिलाई आगामी दिनमा पनि निरन्तरता दिनका लागि विद्यार्थीहरूले आफ्नो शैक्षिक नतिजा सन्तोषजनक राख्नुपर्ने प्रावधान छ।

त्यसका लागि फाउण्डेशनले विद्यालय प्रशासनसँग विद्यार्थीहरूको प्रत्येक त्रैमासिक तथा वार्षिक परीक्षाको प्रगति विवरण माग समेत गरेको छ। प्राविधिक शिक्षा अध्ययन गरिरहेका ग्रामीण भेगका विद्यार्थीहरूका लागि फाउण्डेशनको यो कदम निकै सहयोगी सावित हुने विश्वास गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update