Harsamaya
संघीयता भनेको अधिकार र अवसरको न्यायोचित वितरण हो : प्रदेश प्रमुख सुरेन्द्र लाभ

जनकपुर - मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संघीयता अधिकार र अवसरको न्यायोचित वितरण रहेको बताएका छन् । बुधबार मधेश प्रदेश सभाको ८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रदेश प्रमुख लाभले संघीयता भनेको भूगोलको विभाजन मात्र नरहेको धारणा राखे ।

उनले संघीयता भनेको सिंहदरबारको अधिकारलाई जनताको घरदैलोसम्म ल्याउने प्रदेश संरचना रहेको बताए । लोकतन्त्रको सुन्दरता भनेको जनताले आफ्नो प्रतिनिधिहरू मार्फत आफ्ना लागि आफै कानुन बनाउनु रहेको प्रदेश प्रमुख लाभको भनाई थियो ।

प्रदेश प्रमुख लाभले विगत ८ वर्षमा मधेश प्रदेश सभाले विभिन्न उतार चढाव झेल्दै संघियता कार्यान्वयनमा खेलेको नेतृत्वदायी भूमिका प्रशंसनीय रहेको उल्लेख गरे । प्रदेशको नामाकरण र राजधानी चयनमा मधेश प्रदेश सभाले देखाएको सुझबुझ र सहमति राजनीतिक परिपक्वताको उदाहरण रहेको उनले बताए ।

प्रदेश प्रमुख लाभले प्रदेश सभा कानुन मात्र बनाउने स्थलको रूपमा नभई जनताको समस्याहरूको समाधान गर्ने केन्द्रको रूपमा चिनिनु पर्नेमा जोड दिए । उनले समृद्ध मधेश निर्माणका लागि सम्पूर्ण दलहरूलाई जनताले विकास गर्नका निम्ति मात्र प्रदेश सभामा पठाएको बुझ्नु पर्ने बताए । मधेश प्रदेशको स्वाभिमान उच्च राख्दै सम्पूर्ण प्रदेशवासी र जनप्रतिनिधिहरूले प्रदेशलाई आर्थिक रूपमा समृद्ध र सामाजिक रूपमा समावेशी बनाउन लाग्नु पर्नेमा प्रदेश प्रमुख लाभले जोड दिए ।

आठौँ वार्षिकोत्सव समारोहमा मधेश प्रदेशका सांसद राम सरोज यादवलाई उत्कृष्ट सांसदको रूपमा सम्मान गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update