काठमाडौँ - विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २ गतेदेखि बजारमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कार्यकारी निर्देशक नियुक्तिमा भएको ढिलाइका कारण यस वर्ष पात्रो प्रकाशनमा करिब १० दिन ढिलाइ भएको जनाएको छ ।
समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीका अनुसार वर्तमान तथा पूर्व पदाधिकारी, धर्मशास्त्रविद्, संस्कृतिविद्, ज्योतिषविद्, नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक, विभिन्न समुदायका विज्ञ र प्रदेश तथा स्थानीय तहका प्रतिनिधिबीच व्यापक छलफलपछि पञ्चाङ्ग निर्माण अन्तिम चरणमा पुगेको हो । छलफलपछि विगत वर्षदेखि प्रकाशन हुँदै आएका १८ वटा पात्रोलाई पुनः प्रकाशनको स्वीकृति प्रदान गरिएको छ ।
प्रकाशनका लागि सूर्यनाथ पन्तको तोयनाथ, बाबुराम शर्मा सापकोटाको बाबुराम, मुरारीराज पाण्डेको नरनाथ, विश्वनाथ त्रिपाठीको हिमाल, डिल्लीराज जोशीको अठोला, सुबोध ढुङ्गेलको सूर्य, लोकराज पौडेलको आकाशदर्शन, शशीधर जोशीको बगलामुखी, दामोदर अँठोला जोशीको शुभ, श्रीकेश कौशिकको बाबा गोरखनाथ, कीर्तिकिरण जोशीको कीर्ति, सिद्धिलक्ष्मी व्यञ्जनकारको सिद्धि, चेतराज उपाध्यायको खप्तड तारानाथ, नारायणप्रसाद नेपालको गौरीशङ्कर, केशवराज जोशीको भृगु अङ्गिरा, खगेन्द्रप्रसाद अधिकारीको कश्यप, ज्ञानप्रसाद भण्डारीको मुक्तिनाथ र नारायणप्रसाद निरौलाको आर्यावर्त पञ्चाङ्ग गरी १८ वटा पुराना पात्रोलाई प्रकाशनका लागि स्वीकृति दिएको समितिले जनाएको छ ।
यस अघि विसं २०८१ सम्म १४ वटा पञ्चाङ्ग प्रकाशन हुँदै आएकामा २०८२ मा चार नयाँ पात्रो थपिएका थिए । ती नयाँ पात्रोलाई दुई वर्षे परीक्षणकालसहित स्वीकृति दिइएको समितिले जनाएको छ । विसं २०८३ का लागि अर्को एउटा नयाँ पात्रोले पनि स्वीकृति माग गरे पनि त्यसबारे निर्णय हुन बाँकी छ ।
गठन आदेश २०७७ अनुसार समितिलाई पञ्चाङ्ग तथा क्यालेण्डर प्रकाशन स्वीकृति, चाडबाड र तिथिमिति निर्धारण तथा धर्म–संस्कृतिसम्बन्धी क्षेत्रको नियमन गर्ने जिम्मेवारी दिइएको छ । यद्यपि, यस क्षेत्रलाई व्यवस्थित गर्न छुट्टै विधेयक ल्याउनुपर्ने माग भने अझै कार्यान्वयन हुन सकेको छैन ।

