Harsamaya
नेपाली काङ्ग्रेसमा नयाँ अनुहारहरु देखिए पनि नयाँ नीति र भिजन छैन : उपाध्यक्ष गुरुङ
नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ ।

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले पूराना पार्टीका सानातिना कमी कमजोरीहरुलाई माध्यम बनाएर नेपालको संविधानमाथि आक्रमण भइरहेको बताएका छन् ।

प्रेस चौतारी नेपालले मंगलबार काठमाडौँमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले पुरानो पार्टीहरु असान्दर्भिक भयो भन्ने हल्ला गलत भएको भन्दै पुराना पार्टीका कमजोरीहरुलाई बहाना बनाएर संविधानमाथि आक्रमण भएको बताए ।

साथै, उनले एमालेमाथिको आक्रमण नेपालको संविधान र राजनीतिक व्यवस्थामाथिको आक्रमण भएको पनि बताए । उनले भने, ‘पूराना पार्टीहरु असान्दर्भिक भयो भन्ने जुन हल्ला आइ रहेको छ । त्यो गलत हो । पूराना पार्टीका सानातिना कमि कमजोरीहरुलाई बहाना बनाएर, त्यसलाई माध्यम बनाएर जसरी नेपालको संविधानमाथि आक्रमण भइरहेको छ । नेपालको राजनीतिक व्यवस्था माथि आक्रमण भइरहेको छ ।’

यस्तै, उनले वर्तमान अवस्थामा नेपालको स्वाधिनता र स्वतन्त्रता सबैभन्दा महत्वपूर्ण विषय भएको भन्दै स्वाधिन र स्वतन्त्र नेपालको पक्षमा उभिएका देशभक्त नेपालीहरुको आफ्नो पार्टीलाई साथ र समर्थन गर्ने विश्वास लिएको बताए ।

उनले भने, ‘अहिले नेपालको स्वाधीनता सबैभन्दा महत्वपूर्ण विषय हो । नेपाल रहे मात्र हामी रहने हो, नेपाल स्वतन्त्र भए स्वतन्त्र हुने हो । त्यसकारण स्वाधीन र स्वतन्त्र नेपालको पक्षमा हामी उभिएको हुनाले यो देशका सम्पूर्ण देशभक्त नेपालीहरुको साथ र समर्थन हाम्रो पार्टीलाई हुन्छ भन्ने विश्वास छ ।’

साथै, नेपाली काङ्ग्रेसमा नयाँ अनुहारहरु देखिए पनि नयाँ नीति र भिजन नभएको भन्दै मुलुकलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा ठोस भिजन बोकेको पार्टी एमाले मात्र भएको पनि उनको भनाई छ ।

उनले भने, ‘हामीसँग अनुभव, परिपक्कता, ठोस नीति, कार्यक्रम र मुलुकलाई चलाउन सक्ने हिम्मत र अठोट पनि छ । हामी अरु पार्टीभन्दा भिजनरी पनि छांै । त्यसकारण मुलुकलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा ठोस भिजन बोकेको पार्टी पनि हाम्रो पार्टी हो । नेपाली काङ्ग्रेसको कुरा गर्ने हो नयाँ अनुहारहरु छन् तर नयाँ नीति र भिजन भने छैन् ।’

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update