किमाथाङ्का- सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ ।
चैनपुर–१० इखुम्बुमा खुकुरी प्रहारबाट ४७ वर्षीय लिलाप्रसाद राईको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए ।
आज दिउँसो छिमेकी ५९ वर्षीय शिवकुमार राईको खुकुरी प्रहारबाट लिलाप्रसादको मृत्युु भएको प्रहरी निरीक्षक अर्यालले बताए। उनका अनुसार गाईवस्तुले घाँस खाएको निहुँमा भएको विवादले उग्र रुप लिएपछि शिवकुमारले लिलाप्रसादको छातिमा खुकुरी प्रहार गर्दा निजको घटनास्थलमै मृत्युु भएको हो ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईसहितको टोली घटनास्थल पुगेको छ । खुकुरी प्रहार गर्ने शिवकुमारलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
मृतकको शवपरीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा लगिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

